आईपीएल क्रिकेटमा कोलकाताविरुद्ध दिल्लीको जित

१६ वैशाख २०७९ मुम्बई । इण्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।
आईपीएलको ४१ खेलमा गएराति दिल्लीले कोलकाता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको हो । १४७ रनको लक्ष्य दिल्लीले ६ बल अगावै ६ विकेट गुमाएर पूरा गरेको थियो ।
दिल्लीका डेविड वार्नरले ४२ रन जोड्दा रोभम्यान पावेल ३३ रनमा अविजित रहे । त्यस्तै अक्षर पटेलले २४ तथा ललित यादवले २२ रन जोडे । कोलकाताका उमेश यादवले तीन विकेट लिए ।
यसअघि मुम्बईको वानखेडे रंगशालामा टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित ओभरमा ९ विकेटको नोक्सानीमा १४६ रन बनाएको थियो । उसका लागि नितिश रानाले ५७, कप्तान श्रेयस अइयरले ४२ तथा रिंकु सिंहले २३ रन बनाए ।
दिल्लीका कुलदीप यादवले ४ तथा मुस्तफिजुर रहमानले ३ विकेट लिए । जितपछि ८ खेलबाट ८ अंक जोड्दै दिल्ली तालिकाको छैठौं स्थान उक्लिएको छ ।
उता ९ खेलबाट ६ अंक जोडेको कोलकाता आठौं स्थानमा छ । आज पञ्जाब किंग्स र लखनऊ सुपर जायन्ट्सले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया