सत्ता गठबन्धनको निर्णयविपरीत दर्ता उम्मेदवारी फिर्ता लिन शीर्ष नेतृत्व सहमत

१५ वैशाख २०७९ काठमाडौं । सत्तारुढ गठबन्धनका पाँच दलका शीर्ष नेता स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिन सहमत भएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनभित्र सहमति कायम गर्न आ–आफ्ना दलका तल्ला तहका निकायलाई निर्देशन दिने निर्णय गरेको हो ।
नेताबीच महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा गठबन्धनले गरेको सिट बाँडफाँट विपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिने सहमति भएको हो ।
बैठकपछि शीर्ष नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा गठबन्धनको सहमति विपरीत दर्ता भएको बागी उम्मेदवारी फिर्ता लिन तल्ला समितिहरुलाई निर्देशन दिइएको छ ।
बैठकले गठबन्धनभित्रका कुनै पनि दलले गठबन्धनबाहिरका दलसँग तालमेल नगर्ने र गरेको भए अबिलम्ब खारेज गर्ने सहमति पनि भएको छ ।
शीर्ष नेताहरुले सिट बाँडफाँटमा सहमति हुन नसकेका नगरपालिका, गाउँपालिका र तिनका वडामा तालमेलका लागि पहल गर्न स्थानीय तहका संयन्त्रलाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया