Main News

स्वतन्त्र उम्मेदवारी दिएका नेता तथा कार्यकर्तालाई फिर्ता लिन महामन्त्री थापाको आग्रह

हिमालय टिभी
२०७९ वैशाख १४ गते १५:२८
स्वतन्त्र उम्मेदवारी दिएका नेता तथा कार्यकर्तालाई फिर्ता लिन महामन्त्री थापाको आग्रह

१४ वैशाख २०७९ काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तह निर्वाचनमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएका पार्टीका नेता, कार्यकर्तालाई फिर्ता लिन आग्रह गर्नु भएको छ ।

महामन्त्री थापाले निर्वाचनमा होमिएका बेला पार्टीको निर्णयको सम्मान गर्दै आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नु भएको हो । नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले आज गरको कार्यक्रममा बोल्दै उहाँले गठबन्धन गरेर जाने क्रममा भएका कमीकमजोरीबारे पार्टीले निर्वाचनपछि छलफल गर्ने उल्लेख गर्दै निर्वाचनमा होमिएको बेला पार्टीको निर्णय विपरित उम्मेदवारी दिन नमिल्ने बताउनुभयो ।

त्यसरी उम्मेदवारी दिँदा पार्टीका कर्मठ नेताहरुको हितमा नहुने उहाँले पटकपटक दोहो¥याउनुभयो । महामन्त्री थापाले पार्टीभित्र गठबन्धन गरेर चुनावमा जाने कुरामा फरक मत रहेपनि अहिले पार्टीको निर्णय अनुसार मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धन बनाएर निर्वाचनमा जाने विषयमा पार्टीभित्र फरक मत मात्रै होइन । ठूलो भिन्न मत पनि छ । यसका बारेमा संघर्ष पनि भयो । त्यो संघर्ष छ र भोलिको दिनमा पनि रहन्छ । तर राजनीतिक दल भनेकै आफ्नो मतलाई दलको मत बनाउन कोशिस गर्ने हो । दलको मत बन्न सकेन भने पनि आफ्नो मतलाई दलको मत बनाउन कोशिस गरिरहन्छु भनेर दलले गरेको निर्णयलाई स्वीकार गर्ने हो । यसै गरेर पार्टीहरु निर्णय गरेर अघि बढिरहेका हुन्छन् । हामी पार्टीलाई जिताउन चाहन्छौं, पार्टीको निर्णयलाई कार्यान्वयन गराउन चाहन्छौं ।’

महामन्त्री थापाले आफूले पनि चुनावी तालमेलको विषयमा फरक मत राखेको तर पार्टीले गरेको निर्णय कार्यान्वयन गरेर अघि बढेको बताउनुभयो । अन्यथा पार्टीमा फेरि फर्केर काम गर्न पाउने अवस्था रहन नसक्ने उहाँले स्मरण गराउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *