रसुवामा दुई महिला वडा सदस्य निर्विरोध

२०७९ वैशाख १३ गते १७:०१
रसुवामा दुई महिला वडा सदस्य निर्विरोध

१३ वैशाख २०७९ रसुवा । स्थानीय–तह निर्वाचन–२०७९ अन्तर्गत रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा दुई महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

उक्त गाउँपालिका–२ र ५ मा दलित महिला सदस्यतर्फ एक÷एक जनाको मात्र उम्मेदवारी परेकाले उनीहरु निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिनुभयो । निर्विरोध निर्वाचित हुनेमा नेपाली कांग्रेसबाट वडा नं २ का लक्ष्मी परियार तथा नेकपा एमालेबाट वडा नं ५ का कान्छी लाटी कमिनी रहनुभएको बताइएको छ । उहाँहरूको निर्विरोध घोषणा स्थानीय तह निर्वाचन कानुनबमोजिम हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्वाचनअन्तर्गत सोमबार भएको मनोनयन दर्ताका क्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, राप्रपा नेपाल, मङ्गोल अर्गनाइजेशन दल एवं स्वतन्त्र उम्मेदवारसमेत रहेका छन् ।

पाँचवटा गाउँपालिका र २७ वटा वडा रहेको रसुवा जिल्लामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्य पदका लागि कूल ५०३ जनाले उम्मेदवारी दर्ता गराउनुभएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *