Main News

भरतपुरको महाभारत–कांग्रेसका नेताको बागी उम्मेदवारी (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख १२ गते २१:००
भरतपुरको महाभारत–कांग्रेसका नेताको बागी उम्मेदवारी (भिडियो रिपोर्टसहित)

१२ वैशाख २०७९ काठमाडौं । नेपाली कांग्रेसको जिल्ला नेतृत्व चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादीलाई सघाउने नहुने पक्षमा थियो । तर गठबन्धन गरेरै जाने निर्णय केन्द्रबाट भएपछि कांग्रेसका नेताले मेयरमा बागी उम्मेदवारी दिएका छन । निर्वाचन वहिष्कारको घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट पनि स्वतन्त्र उम्मेदवारी परेको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा चर्चित भरतपुर महानगरपालिकाले यो पटक पनि सत्ता गठबन्धनका कारण चर्चा पायो । सत्तारुढ गठबन्धनभित्रको विवाद शुरुदेखि उम्मेदवारी मनोनयनको दिनसम्म आइपुग्दा छताछुल्ल भएको छ । केन्द्रले गठबन्धनबाट साझा उम्मेदवार माओवादी हुने तय गर्‍यो ।

यो निर्णयविरुद्ध कांग्रेसभित्र व्यापक असन्तुष्टि थियो । त्यो आज देखिएको केन्द्रको निर्देशनलाई अवज्ञा गर्दै जगन्नाथ पौडेलले मेयरमा उम्मेदवारी दर्ता गर्नुभयो । कांग्रेसका कार्यकर्तासहित मनोनयनस्थल पुगेर राष्ट्रिय सभाका पूर्वसांसद पौडेलले उम्मेदवारी दिनुभयो ।

भरतपुरमा कांग्रेसका असन्तुष्टले बागी उम्मेदवारी दिएको विषयमा जिल्ला सभापति राजेश्वर खनालले आपत्ति जनाउनुभएको छ । पौडेलले उम्मेदवारी फिर्ता नलिए पार्टीले कारबाही गर्ने कांग्रेस जिल्ला नेतृत्वले चेतावनी दिएकोछ । असन्तुष्ट समूहलाई कांग्रेस केन्द्रीय परिपत्रअनुसार उम्मेदवारी फिर्ता लिने समय अवधिसम्म फिर्ता नभए कारबाही भोग्न तयार हुन भनेको छ ।

निर्वाचन बहिष्कारको घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट पनि स्वतन्त्र उम्मेदवारी परेको छ । नेकपाका भरतपुर महानगर इन्चार्जरुपमा सक्रिय दुर्गाप्रसाद शर्माले मेयरमा स्वतन्त्र उमेदवारी दर्ता गराउनु भएको हो ।

भरतपुर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी नेतृ रेणु दाहालले उम्मेदवारी दर्ता गर्नुभएको छ । पार्टी कार्यालयबाट सयौं कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाले उम्मेदवारी दिनुभयो ।

गठबन्धन भित्रको किचलोबाट आफूलाई लाभ हुने ठानिरहेको नेकपा एमालेले आफू विजयी हुने दाबी गरिरहेको छ ।

भरतपुर महानगरपालिकामा विवेकशील साझाबाट २८ वर्षीय ईन्जिनियर प्रवीन काफ्लेले हातमा पार्टीको चुनाव चिह्न बोकेर उम्मेदवारी दर्ता गर्नुभएको छ ।

निर्वाचनमा धरौटी जफत हुने उम्मेदवारले पनि जितको दाबी गरिरहेका हुन्छन । मतदाताले भने कसलाई जिताउँछ त्यो भने बैशाख ३० पछिको नतिजाले देखाउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *