राजस्थान रोयल्स आईपीएलको शीर्ष स्थानमा उक्लियो

१० वैशाख २०७९ मुम्बई । इण्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ ।
आईपीएलअन्तर्गत गएराति दिल्ली क्यापिटल्समाथि १५ रनको जित निकाल्दै राजस्थानले शीर्ष स्थान कब्जा गरेको हो । २२३ रनको विशाल लक्ष्यसहित मैदान ओर्लेको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर २०७ रन मात्र बनाउन सक्यो ।
दिल्लीका लागि कप्तान ऋषभ पन्तले ४४, ललित यादव र पृथ्वी शाले समान ३७–३७ तथा रोभम्यान पावेलले ३६ रन बनाए । राजस्थानका प्रसिद्ध कृष्णले ३ तथा रविचन्द्रन आश्विनले २ विकेट लिए ।
यसअघि मुम्बईको वानखेडे रंगशालामा टस हारेर ब्याटिङ गरेको राजस्थानले जोश बट्लरको शतकीय इनिंग्ससँगै मात्र २ विकेटको नोक्सानीमा २२२ रनको विशाल योगफल तयार पारेको थियो ।
बट्लर ११६ रन बनाउँदै पेभेलिएन फर्के । ६५ बलको सामना गरेका उनले ९ छक्का र ९ चौका प्रहार गरेका थिए ।
त्यस्तै देवीदत्त पडिक्कल ५४ रनमा आउट हुँदा कप्तान सञ्जु स्यामसन ४६ रनमा अविजित रहे ।
आज कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्स तथा रोयल च्यालेञ्जर्स बेंग्लोर र सनराइजर्स हैदराबादबीच खेल हुनेछ ।
प्रतिक्रिया