Main News

निर्माण व्यवसायीले किन दिए ‘निर्माण होलिडे’को चेतावनी ?

२०७९ वैशाख ९ गते २०:०८
निर्माण व्यवसायीले किन दिए ‘निर्माण होलिडे’को चेतावनी ?

९ वैशाख २०७९ काठमाडौं । वैशाख ११ देखि निर्माण व्यवसायीहरुले अत्यावश्यक बाहेकका अन्य निर्माणको काम ठप्प पार्ने भएका छन् ।

भौतिक संरचना निर्माणको मुख्य सिजनमै निर्माण सामग्रीको मूल्य अप्रत्यासित बढ्दा ५ हजारभन्दा बढी आयोजनाको काम प्रभावित भएको छ। कामलाई निरन्तरता दिने हो भने मूल्य समायोजना गरिदिन सरकारसँग व्यवसायीको माग छ ।

केही महिनादेखि पेट्रोलियम पदार्थ, फलामजन्य निर्माण सामग्री–छड, पाता लगायतको मूल्य अप्रत्यासित बढेको छ । यसरी मूल्य बढ्दा निर्माण कार्यको लागत बढ्न गएको र सामग्री समेत सहजै उपलब्ध नभएको भन्दै व्यवसायीहरुले बैशाख ११ गतेदेखि कन्स्ट्रक्सन होलिडे गर्ने भएका छन् ।

सरकारले मूल्य समायोजन मार्गदर्शन जारी गरी मूल्य वृद्धिलाई सम्बोधन नगर्ने हो भने अवस्था सहज नभएकसम्म काम ठप्प पार्ने व्यवसायीको भनाइ छ । व्यवसायीले गर्न लागेको कन्स्ट्रक्सन होलिडेका कारण ८ खर्बका ५ हजारभन्दा बढी आयोजना प्रभावित हुने भएका छन् ।

उसो त यसअघि २०६५ सालमा पनि निर्माण सामग्रीको मूल्य अप्रत्यासहित बढेपछि सरकारले मूल्य समायोजन मार्गदर्शन जारी गरि निर्माण कार्यमा सहजता प्रदान गरेको थियो । नेपालमा हिउँद याम सुरु भएसँगै पूर्वाधार निर्माणले गति लिने गर्छ । तर यो पटक व्यवसायीहरुको आन्दोलनले मूख्य सिजनमै निर्माण कार्य रोकिने भएको छ ।

उसो त यो वर्ष यसअघि पनि निर्माण कार्यले खासै गति लिन सकेको छैन । चालू आर्थिक वर्षको नौ महिना वितिसक्दा सरकारले विकास निर्माणका लागि छुट्याएको बजेटको २८ प्रतिशत मात्र खर्च भएको छ। सरकारको मासिक १० प्रतिशत खर्च गर्ने लक्ष्य थियो । व्यवसायीको आन्दोलनले यो वर्ष ५० प्रतिशत पनि खर्च नहुने हो की भन्ने चिन्ता बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कोइलाको भाउ निकै बढ्दा यसको असर सिमेन्ट र छडमा परेको छ । अहिले फलामे छडको मूल्य प्रतिकिलो २० देखि ३० रुपैयाँसम्म बढेको छ भने सिमेन्टको मूल्य बोराको २० प्रतिशतसम्म बढेको छ ।

फलामे डन्डी प्रतिकिलो ११० देखि १२० रुपैयाँसम्म पुगेको छ। नदीजन्य सामग्रीको उत्खनन र बिक्रीवितरणमा गरेको कडाइले गिट्टी, बालुवा, ढुंगाको मूल्य पनि मनोमानी बढाइएको छ। यस्तै व्यवसायीहरुले बीमा निर्देशिका २०७८ ले पनि निर्माण कार्यको लागत बढाएको भन्दै त्यसको खारेजीको मागसमेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *