उम्मेदवार बन्न धमाधम राजीनामा दिँदै जनप्रतिनिधि

९ वैशाख २०७९ काठमाडौं । निर्वाचन आचारसंहिताअनुसार स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिले पद छाड्नुपर्ने भएकाले अहिले धमाधम राजीनामा दिने क्रम शुरु भएको छ।
चितवनको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दोहोरिने तयारीका लागि राजीनामा दिएकी छन्। पाँच दलीय गठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रबाट टिकट पक्का गरेपछि दाहालले आज प्रमुख पदबाट राजीनामा दिनुभएको हो ।
२०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसको साथ लिएर दाहाल माओवादीबाट निर्वाचित हुनुभएको थियो । दाहालले ४३ हजार १२७ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत ल्याउनु भएको थियो ।
यस्तै, वीरगन्जका मेयर विजय सरावगीले हिजो दिएको राजीनामा आज स्वीकृत भएको छ।
सरावगी यसपालि नेकपा एमालेबाट वीरगन्जको मेयर उठ्दै हुनुहुन्छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पदबाट राजीनामा दिनुभएको छ ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बन्न लामाले पदबाट राजीनामा दिनुभएको हो ।
प्रतिक्रिया