सत्ता गठबन्धनबीच आज पनि छलफल हुँदै, २ उपमहानगरको भागबण्डा टुङ्ग्याइने

७ वैशाख २०७९ काठमाडौं । स्थानीय तह निर्वाचनमा भागबण्डा मिलाउन सरकारमा रहेका दलहरूबीच आज पनि छलफल हुने भएको छ ।
महानगरमा सहमति जुटेपछि आजको बैठकबाट ११ उपमहानगरको भगबण्डाबारे टुङ्गो लगाइने छ । हालसम्मको अवस्थामा सरकारको नेतृत्व गरिरहेको पाँच दलीय सत्तागठबन्धनले ६ महानगर र ९ उपमहानगरका मेयर–उपमेयरको सिट बाँडफाँट टुङ्ग्याएको छ ।
बाँकी रहेका २ उपमहानगरमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले दाबी नछाडेपछि सहमति हुन सकेको छैन । आजको बैठकले बाँकी रहेको नेपालगञ्ज र जनकपुर उपमहानगरपालिकाको विवाद टुङ्ग्याइने कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले जानकारी दिनुभयो ।
बैठक सरकारी निवास बालुवाटारमा बस्ने छ । यसअघि हिजोको बैठकले ६ महानगर र ९ उपमहानगरमा सहमति जुटाएको हो । ६ महानगरमा विराटनगर, काठमाडौँ र ललितपुर कांग्रेसलाई, वीरगञ्ज जसपालाई, भरतपुर माओवादी केन्द्रलाई र पोखरा एकीकृत समाजवादीलाई दिइएको छ ।
यस्तै उपमहानगरमा धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर र धनगढी कांग्रेसलाई, जितपुर सिमरा र घोराही माओवादी केन्द्रलाई र हेटौँडा एकीकृत समाजवादीलाई दिइएको छ ।
प्रतिक्रिया