Main News

गठबन्धनले गरेको भागबण्डा मान्ने ललितपुरका मेयर महर्जनको प्रतिक्रिया

हिमालय टिभी
२०७९ वैशाख ६ गते १७:०७
गठबन्धनले गरेको भागबण्डा मान्ने ललितपुरका मेयर महर्जनको प्रतिक्रिया

६ वैशाख २०७९ काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गठबन्धनले गरेको भागबण्डा आफुहरुले मान्ने बताउनुभएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मेयर महर्जनले गठबन्धनले महानगरपालिकामा गर्ने भागबण्डा आफुहरुले मान्ने बताउनुभएको हो । उहाँले ललितपुर महानगरपालिका भने नेपाली कांग्रेसले पहिले पनि जितेका हुनाले यस पटकको निर्वाचनमा अरुलाई नछोड्ने बताउनुभयो ।

ललितपुर महानगरपालिकाको मेयर र उपमेयर आफुहरुले राख्ने उहाँले बताउनुभयो । त्यसैगरी यसअघि नेपाली कांग्रेसले जितेको १० वटा वडा पनि आफुहरुलाई राख्ने र बाँकी रहेको १९ वटा वडामा पनि आफुहरुले ५० प्रतिशत लिएर भागबण्डा गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘गठबन्धन गर्दै गर्दा केन्द्रको निर्णय मान्नुपर्छ र हामी मान्छौँ । ललितपुर हामी छोड्दैनौँ । हामीले त जितेको ठाउँ हो नि त । छोड्ने भन्ने त प्रश्नै आउँदैन । मेयर उपमेयर हामी राख्छौँ । २९ वडामा १९ वडा भागबण्डा गर्छौ । १० वडा हामी नै राख्छौँ । भागबण्डा गर्दाखेरी हामी घटीमा पनि ५० प्रतिशत लिन्छौँ । मैले पाउँछु फरकै पर्दैन । जितेको मेयर मै हुँ । जित्नेपनि मै हुँ । गठबन्धनमा जे निर्णय हुन्छ हामी अक्षरशः पालना गर्छौ ।’

उहाँले ललितपुर महानगरपालिकामा मेयरको उम्मेदवार आफु भएको पनि बताउनुभयो । आफुले नै मेयरको टिकट पाउने उहाँले दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *