राजनीति

स्थानीय निर्वाचन : एमालेले पुरानो शाख जोगाउन सक्ला ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख ४ गते २०:५२
स्थानीय निर्वाचन : एमालेले पुरानो शाख जोगाउन सक्ला ? (भिडियो रिपोर्टसहित)

४ वैशाख २०७९ काठमाडौं । वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । निर्वाचनमा आफ्नो पल्ला भारी पार्न दलहरु प्रचार–प्रसारदेखि एक–अर्कासँग तालमेलको छलफलमा दैनिक जसो जुटिरहेका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा पहिलो बनेको एमाले अहिले विभाजित भएको छ । उसको अवस्था कस्तो होला ? पुरानो शाख जोगाउन सक्छ कि सक्दैन, उत्तिकै चासो रहेको छ ।

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलो शक्ति बनेको थियो । ७ सय ५३ स्थानीय तहमध्ये २ सय ९४ तहका प्रमुख जितेको एमालेले त्यसबेला कूल ३३ हजार १ सय ७४ उम्मेदवार उभ्याएको थियो । त्यसमध्ये १४ हजार १ सय विजयी भएका थिए । २ सय ६६ स्थानीय तहमा विजयी हुँदै नेपाली कांग्रेस दोस्रो र १ सय ६ वटा स्थानीय तहमा जित हात पार्दै नेकपा माओवादी केन्द्र तेस्रो भएको थियो ।

त्यतिबेला पहिलो चरणमा सम्पन्न निर्वाचनमा केही स्थानीय तहमा तालमेल भएपनि अहिले जस्तो गठबन्धनको चर्चा थिएन । अर्थात दलहरु अधिकांश स्थानमा एक्ला एक्लै प्रतिस्पर्धा उत्रिएका थिए । त्यसबेला एकढिक्का रहेको एमाले राष्ट्रियता सम्बन्धी मुद्दाका कारण बलियो बनेको थियो ।

भारतले नाकाबन्दी गर्दा तत्कालिन प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओली अडानले जनतामा सकारात्मक छाप छोडेको थियो । अहिले परिस्थिति बदलिएको छ । एमाले विभाजित बनेको मात्र छैन, ३ वर्ष सत्ता सञ्चालन गरेका ओलीले जनविश्वास पनि गुमाउनुभएको छ । ओलीले जनचाहाना अनुसार काम गर्न सक्नु भएन् भने हावादारी गफ गरेर तीन वर्ष खेर फालेको आरोप पनि लगाईंदै आएको छ ।

एमालेको नेतृत्व नै सम्हालेका पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल जस्ता प्रभावशाली नेताहरु अहिले अलगिनुभएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा अधिकांश क्षेत्रमा एमालेले थोरै मतान्तरबाट जित हात परेको थियो । अहिले त नेपाली कांग्रेस मात्रै नभएर माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी मात्रै नभएर जनमोर्चा र कतिपय स्थानमा राप्रपा जस्ता पार्टीहरु पनि नेकपा एमालेको विपक्षमा उभिने सम्भावना छ ।

सत्तागठबन्धनमा आवद्ध दलहरुबीच चुनावी तालमेल भएका स्थानमा जित्नु एमालेका लागि फलामको चिउरा चपाउनु सरह हुनेछ । त्यही बुझेरै हुनु पर्छ एमालेले पनि अहिले एक एक मत आफ्नो पक्षमा पार्ने अभियान तीव्र पारेको छ । विभिन्न पार्टी परित्याग गरि आफ्नो पार्टीमा आउनेलाई सहजै टिकट दिनेदेखि विचारै नमिल्ने पार्टी र समूहरुसँग तालमेल गर्ने नीति एमालेले अख्तियार गरेको छ ।

राप्रपा नेपाल, परिवारदलसँग चुनावी तालमेल गर्ने सहमति गरिसकेको एमालेले तनहुँमा नेपाली कांग्रेसका पूर्वनेता गोविन्दराज जोशी लगायतका असन्तुष्ट समूहसंग तालमेल गर्ने तयारी गरेको छ । त्यस्तै ओलीले केही दिन अघि मात्रै पनि विप्लव नेतृत्वको नेकपालाई सूर्य चिन्हबाट चुनावमा प्रतिस्पर्धा गर्न आग्रह गर्नु भएको थियो । यसबाट के बुझन् सकिन्छ भने नेकपा एमालेलाई विगतको आफ्नै विरासत जोगाउन कठिन हुने देखिएको छ ।

कतिपय स्थानमा मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस एक्लै भारी पर्ने देखिन्छ भने कतिपय स्थानमा गठबन्धनको तर्फका उम्मेदवारसंग चर्को प्रतिष्पर्धा गर्नुपर्ने हुन सक्छ । नेकपा एमालेका नेताहरु भने आफ्नो पार्टी अहिले पनि पहिलो स्थानमै आउने दाबी गर्छन्।

गठबन्धनभित्रको असन्तुष्टि, विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका जनप्रतिनिधि, नेता तथा कार्यकर्ताहरु र पार्टी अध्यक्ष ओलीको आक्रामक चुनाव प्रचार प्रसारको लाभ लिने तयारीमा रहेको एमालेका लागि सोचे जस्तो परिणाम आउन मुस्किल देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्