राजनीति

मकवानपुरमा भागबण्डा मिलाउन गठबन्धनलाई सकस (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख ४ गते २०:३३
मकवानपुरमा भागबण्डा मिलाउन गठबन्धनलाई सकस (भिडियो रिपोर्टसहित)

४ वैशाख २०७९ मकवानपुर । मकवानपुरमा भागबण्डा मिलाउन गठबन्धनलाई सकस परेको छ । एमालेले अधिकांश स्थानीय तहमा उम्मेदवार टुंगाएर घरदैलोमा हिँडिसकेको अवस्थामा सत्ता गठबन्धनलाई भने उम्मेदवार छनौटमै हम्मेहम्मे परेको छ ।

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार दलहरू भागबण्डा मिलाउन लामो समयदेखि नियमित बैठकमा छन् । भागबण्डा मिलाउन गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीका जिल्ला नेतृत्व सहमतिको प्रयासका लागि दैनिक छलफलमा जुट्दै आएका छन् । तर, गठबन्धनभित्रका दलको आ–आफ्नो दाबीका कारण सहमति जुट्न सकेको छैन ।

गठबन्धनमा सहभागी एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको प्रमुख, उपप्रमुख र १९ वटै वडा अध्यक्षको नाम जिल्ला कमिटीमा सिफारिस गरेपछि गठबन्धनभित्रै तरंग उत्पन्न भएको छ । तर एकीकृत समाजवादीले गठबन्धनलाई कुनै असर नगर्ने दाबी गर्छ ।

गठबन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसले भने सहमतिबिना उम्मेदवार सिफारिस गर्नुले कुनै तुक नराख्ने धारणा राखेको छ । गठबन्धन गर्न नहुने मत बढिरहेका बेला मकवानपुर कांग्रेसले पनि त्यस्तो अवस्था आए मित्रवत प्रतिष्पर्धाको ढोका खुल्ला राखेको छ ।

गत निर्वाचनमा जितेका गाउँपालिका सम्बन्धित दलले पाउने गठबन्धनमा सहमति भएपनि ३ वटा गाउँपालिका र वडामा भागबण्डा मिलेको छैन । गत निर्वाचनमा कांग्रेसले बकैया र राक्सिराङ गाउँपालिका, माओवादी केन्द्रले थाहा नगरपालिका र बागमती गाउँपालिका जितेको थियो ।

त्यस्तै एमालेबाट विजयी भएका कैलाश र इन्द्रसरोवर गाउँपालिका अध्यक्ष पार्टी विभाजनसँगै एकीकृत समाजवादीमा समाहित भएसँगै तीन दलले दुई–दुई वटा पालिका पाउने भएका छन् ।

तर, एमालेले जितेको मनहरी, मकवानपुरगढी र भीमफेदीमा तीन दलबीच सहमति जुट्न नसकेको सत्ता गठबन्धनले बताएको छ । मनहरीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले दावी नछोडेकाले सहमति जुट्न सकेको छैन ।

उता जनता समाजवादी पार्टी पनि आफुले हेटौंडा उपमहानगरको उपमेयर सहित मकवानपुरका सबै स्थानीय तहमा १० प्रतिशत भाग चाहिने भन्दै अडान लिएर बसेको छ । आफुलाई गठबन्धनले तलमाथि गरे जित्न नसकेपनि हराउने तागत आफुसंग भएको भन्दै चेतावनी नै दिएको छ ।

जिल्लाका १० पालिका समेत गरेर एकसय दुईवटा वडामध्ये कांग्रेसले ७०, माओवादीले ४६ र एकीकृत समाजवादीले ३० वटा वडा दाबी गरेका छन् । कांग्रेसले हेटौंडा उपमहानगरसहित, राक्सिराङ, बकैया, मवानपुरगढी, कैलाश र मनहरी गाउँपालिकामा दावी गरेको छ । २०७४ को निर्वाचनमा कांग्रेसले राक्सिराङमा अध्यक्ष र उपाध्यक्ष, बकैयामा अध्यक्ष र थाहा नगरमा उपप्रमुख मात्रै जितेको थियो ।

यो विवादले गर्दा सत्ता गठबन्धनलाई मकवानपुरमा एमाले हराउन सहज देखिदैन । मकवानपुरमा एमाले सबैभन्दा बलियो पार्टी मात्र होइन, राप्रपा नेपालसँग तालमेल पनि गरेको छ । मकवानपुरमा राप्रपा नेपालको पकड राम्रै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्