Main News

यसरी मनाइयो बालाजु बाइसधारा मेला (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख ३ गते १६:१२
यसरी मनाइयो बालाजु बाइसधारा मेला (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७९ काठमाडौं । धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक रुपमा काठमाडौंको बालाजु बाइसधारा महत्वपूर्ण स्थल हो । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन बाइसधारामा मेला लाग्ने गर्दछ । आज चैत शुक्ल पूर्णिमा, बाइसधारामा मेला भर्न आउने श्रद्धालु उल्लेख्य छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ को बालाजुमा रहेको बाइसधारामा हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन काठमाडौं उपत्यका र वरपरबाट बाइसधारा स्नान गर्न आउने दर्शनार्थीको घुँइचो लाग्ने गरेको छ ।

बौद्ध धर्मावलम्बी र हिन्दू धर्मावलम्बी दुवैको आस्थाको केन्द्रका रूपमा रहेको बालाजु र नागार्जुन क्षेत्र धार्मिक सहिष्णुताको दृष्टिले पनि अनुपम नमूना मानिन्छ।

यस दिनलाई नेवार समुदायले ल्हुतिपुन्हीको रूपमा मनाउने गर्दछन्। यसै दिन मन्नादी देवीको जन्म भएकाले विशेष गरी महिलाले बाइसधारामा स्नान गरी देवीको पूजा अर्चना गरे फलिफाप हुने जनविश्वास छ। यहाँ नुहाउनाले जो कोहीको पनि शरीरका सम्पूर्ण रोगव्याधी हट्ने विश्वास गरिन्छ।

बालाजुमा नेपाल संवत् ८७५ मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गेधारा स्थापना गराएका थिए। पछि विक्रम संवत् १८५५ मा राजा रणबहादुर शाहले थप एउटा ठूलो ढुङ्गेधारा स्थापना गरी बाइसधाराको नामले प्रख्यात रहेको इतिहासमा उल्लेख छ । बालाजु बाइसधारा धार्मिक, साँस्कृतिक तथा पर्यटकीय दृष्टिबाट महत्वपूर्ण रहेको सांसद रामवीर मानन्धरले बताउनुभयो ।

लुति पून्ही मेला तथा जात्राको रुपमा पनि चिनिने यस बालाजु बाइसधारा मेला व्यस्थापनका लागि मूल समारोह समितिले विभिन्न संघसंस्थासँग सहकार्य गरेर सहज दर्शनको व्यवस्था गरेको छ ।

नागार्जुन पर्वतको पाउमा पर्ने बालाजुको बाइसधारामा स्नान गरी शिवपुरी राष्ट्रिय निकुञ्जमा पर्ने २ हजार १ सय २८ मिटरको उचाइमा रहेको पदयात्राका लागि समेत प्रख्यात जामाचो डाँडामा गएर मेला भर्ने र डाँडाबाट काठमाडौं उपत्यकाको सुन्दर दृश्यावलोकल गर्न पाइने हुँदा पर्यटकीय हिसाबले पनि बालाजु बाइसधारा मेलाको निकै महत्व छ ।

कोरोना महामारी कम भएसँगै काठमाडौंमा मेला, पर्व र जात्राहरु धुमधामका साथ मनाइन थालिएको छ । चैत शुक्ल पूर्णिमाका दिनबाट काठमाडौंको नेवार समुदायका जात्रा पर्व पनि शुरु हुने गर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *