शोकमा पत्रकार सुमन मल्लको परिवार, निधनपछि परिवारको दुःख हेर्ने कोही भएन (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख ३ गते १४:२३
शोकमा पत्रकार सुमन मल्लको परिवार, निधनपछि परिवारको दुःख हेर्ने कोही भएन (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७९ मुगु । धैरैको दुःख र पीडामा मलम लगाउँदै अस्ताएका मुगुका पत्रकार सुमन मल्लको परिवार यति बेला शोकमा छ । धेरैको दुःख लेखेका सुमनको निधनपछि परिवारको दुःख हेर्ने कोही भएन ।

रोग, भोक, विकटतामा आफ्नै जीवन कष्टकर हुँदाहुँदै मुगु छायाँनाथ रारा नगरपालिका वडा नम्बर १ का पत्रकार सुमन मल्लले नाटक र पत्रकारितामार्फत् कर्णालीका नागरिकको पीडामा मलम लगाउने प्रयास गर्नुभयो ।

कमाउने एक मात्र पात्रको मृत्यु भएपछि परिवारको आम्दानीको स्रोत गुमेको छ । तीन छोराछोरी, श्रीमती र ७० वर्षीया आमाको आधार ढलेको छ ।

मल्लले २० वर्ष पत्रकारिता तथा रंगमञ्चमा नाट्यकारको भूमिका निर्वाह गर्नुभयो। कर्णालीको दुःख नाटक र पत्रकारिताको माध्यमबाट देशविदेशमा पुर्‍याएका मल्लको मृत्युपछि परिवारमा हातमुख जोड्नै समस्या छ । तीन सन्तानको पालनपोषण, पठनपाठन अन्योलमा परेको छ ।

ऋणको भारी त्यसमाथि बालबालिकाको भविष्यले सुमनकी श्रीमतीलाई पिरोलेको छ अनि श्रीमान पत्रकार भएकोमा पछुतो पनि लाग्ने गरेको छ ।

मल्लले कर्णालीको यथार्थ जीवनमा आधारित नाटक कर्नाली दख्खिन बग्दोछ र कर्नालीका नागरिकलाई सपना देखाउने गरि बनाइएको अर्को नाटक सुइना कर्नालीमा मुख्य पात्रका रुपमा अभिनय गर्नु भएको थियो ।

नाटक लेखन, निर्देशन तथा अभिनयमासमेत पोख्त मल्ल २० वर्षदेखि विभिन्न सञ्चारमाध्यममा काम गर्नुभयो । कर्णालीका नागरिकको आवाज उठाउँदै आएका मल्लले समाज परिवर्तनमा समेत ठूलो योगदान दिनुभएको छ ।

मल्लले पत्रकारिताको साटो राजनीति गरेको भए उहाँको सम्झनमा चोकचोकमा सालिक बन्थ्यो होला । तर आज सुमनलाई सम्झिने र दुःख मेटाउने मान्छे समेत परिवारले पाएका छैनन् । पत्रकार मल्ल मधुमेह र बाथ रोगबाट पीडित थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *