Main News

वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने

२०७८ चैत ३० गते २१:२९
वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने

३० चैत २०७८ काठमाडौं । नेपाल वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजाबाहक विमानबाट साउदी अरेबियामा नियमित उडान भर्नका लागि पहल चाल्नुभएसँगै अब वायुसेवा निगमले नियमित उडान भर्ने भएको हो ।

निगमका अनुसार वैशाख ९ गतेदेखि वायुसेवाको राष्ट्रिय ध्वजाबाहक विमानले पहिलो पटक साउदी अरेबियाको रियादमा नियमित उडान गर्न लागेको हो । उक्त उडानका लागि नेपाल नागरिक उड्डययन प्राधिकरणले पनि वायुसेवा निगमलाई उडान अनुमति दिइसकेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्नसक्ने गरी अनुमति पाएको छ । निगमले व्यावसायिक योजनाअनुरुप काठमाडौँ–रियाद–काठमाडौँ सेक्टरमा नियमित उडान सुरु गर्ने भएको हो ।

यो रुटमा निगमले लामो समयदेखि उडानको तयारी गरे पनि अनुमति भने पाएको थिएन । मन्त्री आलेले उडान अनुमतिका लागि पहल चालेपछि अब वायुसेवाको राष्ट्रिय ध्वजाबाहक विमानले उडान भर्ने भएको हो । यसअघि हिमालय एरलाइन्सले मात्रै साउदीमा उडान अनुमति पाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *