Main News

उद्घाटन मोह : मेलम्चीको सातौं उद्घाटन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत २९ गते २१:०४
उद्घाटन मोह : मेलम्चीको सातौं उद्घाटन (भिडियो रिपोर्टसहित)

२९ चैत २०७८ काठमाडौं । नेपालमा कुनै पनि आयोजना सम्पन्न नभइकनै काम देखाउन उद्घाटन गर्ने चलननै बनिसक्यो । निर्माणाधीन धरहराको उद्घाटन होस् वा अहिले मेलम्चीको सातौं उद्घाटन, सत्तामा रहनेहरुको उद्घाटन मोह छर्लंग हुन्छ । कहिले कहिले भयो त मेलम्ची आयोजनाको उद्घाटन ?

गत वर्ष असार १ गते भ्रेमाथाङमा पहिरो जाँदा क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा मंगलबार खानेपानीमन्त्री उमाकान्त चौधरीसहितको जम्बो टोली पुग्यो । चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने प्रतिवद्धता गरेका मन्त्री चौधरी आयोजनाको निर्माण कार्य सम्पन्न नहुँदै उद्घाटनको हतारोमा देखिनुभयो ।

प्रधानमन्त्री देउवा नै जाने बताइए पनि निर्वाचन आचारसंहिता लागिसकेको भन्दै उहाँ भने अन्तिम समयमा मेलम्ची जान रोकिनुभयो । तर, मन्त्री चौधरीले मेलम्चीको अम्बाथानस्थित हेडवर्क्समा पथान्तरण गरी पानी काठमाडौं पठाउन सुरुङमा हाल्ने कार्यको उद्घाटन गर्नुभयो ।

अहिले पानी काठमाडौं ल्याइए पनि अबको दुई महिना अर्थात् असार लागेसँगै अहिले बनाइएको अस्थायी संरचनबाट पानी ल्याउन सम्भव छैन । स्थायी रुपमा पानी ल्याउने भन्दा पनि अस्थायी रुपमा केही दिनका लागि काठमाडौंका धारामा पानी झारेर काम देखाउने लहडमा खानेपानीमन्त्री चौधरी लाग्नुभएको छ । उसो त यसअघि खानेपानी मन्त्री बिना मगरले यस्तै हतारो गर्दा सुरुङमा दुर्घटनानै भएको थियो ।

कहिले कहिले भयो त उद्घाटन ?
अहिलेसम्म पथान्तरणको औपचारिक सुरुआत र विभिन्न चरणमा भएका उद्घाटनसहित हेर्ने हो भने चौधरीले गरेको यो उद्घाटन सातौं हो ।

२०७७ असार २१ गते पहिलोपटक मेलम्चीको पानी पथान्तरण भएको थियो । तत्कालीन खानेपानीमन्त्री बिना मगरले काठमाडौंमा पत्रकार सम्मेलन गरेर शुभारम्भ गर्नुभएको थियो । तर, एक हप्तामै मेलम्चीको अडिट सुरुङको गेट भत्किएर दुर्घटना भएपछि मर्मतमा करिब ८ महिना लाग्यो ।

दोस्रो पटक २०७७ फागुन १० मा तत्कालीन खानेपानीमन्त्री मणिचन्द्र थापा र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मेलम्चीको मुहानमै पुगेर सुरुङमा पुनः पानी पथान्तरणको शुभारम्भ गर्नुभएको थियो ।

त्यसको १२ दिनपछि तत्कालिन प्रधानमन्त्री केपी ओलीले फागुन २२ गते सुन्दरीजलमा आइपुगेको पानीलाई गेट खोलेर बागमती नदीमा पठाउँदै काठमाडौंमा मेलम्चीको पानी आइपुगेको घोषणा गर्नुभयो ।

२०७७ चैत १५ गते काठमाडौं महाँकालमा रहेको पानी पोखरीमा औपचारिक कार्यक्रम गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल०ले मेलम्चीको पानी वितरण शुरु गर्‍यो ।

२०७७ चैत २० गते भृकुटीमण्डपमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची आयोजनाको पानी वितरण कार्यको उद्घाटन गर्नुभयो । तर, हेडवर्क्सको निर्माण नसकिँदै अस्थायी रुपमा ल्याइएको पानीको पटकपटक उद्घाटन र शुभारम्भ गरे पनि असार १ को बाढीले आयोजनाको मुहान क्षेत्र नराम्ररी बिगारिदियो ।

खानेपानी मन्त्री चौधरीले अस्थायी बाँध बनाइसकेपछि गत चैत १९ गते मेलम्चीको मुहानमा पुगेर डाइभर्सन सुरुङमा पानी भर्ने कार्यको शुभारम्भ गर्नुभयो । त्यसको १० दिनपछि अर्थात मंगलबार मन्त्री चौधरी आफैंले उद्घाटन–शुभारम्भ गर्नुभयो ।

मेलम्ची आयोजनाको काम अझै सकिएको छैन । तर, राजनीतिक जस लिने होडबाजीमा रहेका दलहरु पानी स्थायी रुपमा काठमाडौं ल्याउने भन्दा उद्घाटनको कीर्तिमान राख्नेतर्फै बढी केन्द्रित देखिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *