राजनीति

महानगरमा तालमेलका लागि गठबन्धनमा जुट्यो यस्तो सहमति (भिडियो रिपोर्टसहित)

कुन महानगरपालिका कुन दललाई ?

हिमालय टिभी
२०७८ चैत २९ गते २०:३९
महानगरमा तालमेलका लागि गठबन्धनमा जुट्यो यस्तो सहमति (भिडियो रिपोर्टसहित)

२९ चैत २०७८ काठमाडौं । पाँच दलीय सत्तागठबन्धनले महानगरपालिकामा तालमेलका लागि सहमति जुटाएको छ । सहमति अनुसार तीन वटा महानगरपालिकामा नेपाली कांग्रेस र बाँकी तीन वटामा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले नेतृत्व लिने सहमति जुटेको हो । केन्द्रबाट भएको निर्णयको स्थानीयस्तरमा पालना गर्न भने कठिन हुने देखिएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्तागठबन्धन दलहरुले तालमेल गरेर जाने निर्णय गरेका छन् । तालमेल गर्ने सहमति भएपनि कुन स्थानीय तहमा कुन दलको तर्फबाट उम्मेदवार बन्ने टुंगो लाग्न सकेको छैन् ।

स्थानीय पालिकाको भागबण्डाका लागि गठबन्धनमा आवद्ध दलहरुका बीचमा हरेक दिनजसो बैठक र छलफल पनि जारी छन् । अन्य स्थानीय तहमा सहमतिको प्रयास भैरहेपनि देशभरका ६ वटा महानगरपालिकामा नेताहरूले करिब–करिब सहमति जुटाएका छन ।

काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा नेपाली कांग्रेस, भरतपुर महानगरपालिका माओवादी केन्द्र, पोखरा महानगरपालिका एकीकृत समाजवादी र वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिने सहमति भएको बताइएको छ ।

तर केन्द्रीय नेताहरुले गरेको भागबन्डा स्थानीयस्तरमा सहजै स्वीकार हुनेमा आशंका छ । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनको तालमेलको निर्णय कार्यान्वयन गर्नु प्रतिनिधिसभाको निर्वाचनमा जस्तो सजिलो नभएको बताउनुभयो ।

महानगरपालिकामा भागबन्डा मिलेको विषयमा भने महतले कुनै जानकारी दिनुभएन । स्थानीय परिस्थिति र आवश्यकताका आधारमा गठबन्धनमा आवद्ध दलहरुका बीचमा यस अघि नै तालमेलको निर्णय भैसकेको र छिट्टै भागबन्डा गरेर अन्तिम टुंगोमा पुग्ने महतको भनाइ छ ।

माओवादी केन्द्रलाई भरतपुर महानगरपालिका दिने सहमतिलाई नेपाली कांग्रेस चितवनका नेताहरुले सहजै स्वीकार गर्ने अवस्था बनिसकेको छैन् । अहिलेपनि कुनै पनि हालतमा भरतपुर महानगरपालिका छाड्न नसकिने बताइरहेका छन् ।

पोखरा महानगरपालिकामा पनि नेपाली कांग्रेसका स्थानीय नेताहरु एकीकृत समाजवादीलाई छाड्न तयार देखिँदैनन् । केन्द्रमा भएको सहमति स्थानीय तहमा अस्वीकार भएमा त्यसको असर निर्वाचनमा प्रत्यक्ष पर्ने देखिन्छ ।

केन्द्रबाट निर्णय गरेर जबरजस्ती रुपमा तालमेल गरिए गठबन्धन तर्फका उम्मेदवारलाई निर्वाचन महँगो पर्न सक्छ । पाँच दलीय गठबन्धनमा आवद्ध दलहरुका बीचमा भागबन्डा भएका महानगरमध्ये काठमाडौं, पोखरा र विराटनगरमा नेकपा एमाले, ललितपुरमा नेपाली कांग्रेस, भरतपुरमा माओवादी केन्द्र र वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टीले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्