Main News

वैशाख ३० गतेको चुनाव रोक्न माग गरिएको रिटमा आज सुनुवाइ हुँदै

हिमालय टिभी
२०७८ चैत २८ गते ८:५४
वैशाख ३० गतेको चुनाव रोक्न माग गरिएको रिटमा आज सुनुवाइ हुँदै

२८ चैत २०७८ काठमाडौं । वैशाख ३० गतेको चुनाव रोक्न माग गरिएको रिटमा सर्वोच्च अदालतले आज सुनुवाइ गर्ने भएको छ ।

महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साह र पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले दर्ता गराएको रिट सर्वोच्चमा विचाराधीन छ ।

तेस्रो चरणमा अर्थात् २०७४ असोजको निर्वाचनबाट निर्वाचित भएकाले सोही अवधिसम्म काम गर्न पाउनुपर्ने माग गर्दै दुबै जनाले रिट दर्ता गरेका हुन् । परेका रिटमध्ये आज चौरासियाको रिट पेसी रहेको छ ।

यसअघि कारण देखाऊ आदेश जारी भएको चौरासियाको रिटमा दोस्रो सुनुवाइ हुन लागेको हो । चौरसियाले दर्ता गराएको रिटमा आज संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न सक्ने सम्भावना रहेको छ ।

फागुन १३ गते दर्ता गरिएको उक्त रिट फागुन १८ गते न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको थियो । आदेशमा सञ्जीवकुमार साहले दायर गरेको रिटलाई पनि सँगै राखी हेर्ने आदेशसमेत भएको छ ।

दुवै रिटमाथि आज छलफल भएर अन्तिम फैसला निर्वाचन अघि हुन सक्ने सम्भावना पनि रहेको अदालतले जनाएको छ । साहको रिटमा फागुन ११ गते पहिलो सुनुवाइ भएको थियो । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले अन्तरिम जारी नहुने भन्दै लिखित जवाफ मागेर कारण देखाउ आदेश जारी गरेको हो ।

मेयर साहको मुद्दा वैशाख २ गतेका लागि साधारण तारेखमा रहेको छ । उक्त मितिपछि पेसी तोकिने भएकाले यो मुद्दाको सुनवाइ सम्भवतः वैशाख ३० को निर्वाचनपछि नै हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *