राजनीति

गभर्नरमाथिको कारबाही तत्काल फिर्ता लिन एमालेको माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत २७ गते १६:४४
गभर्नरमाथिको कारबाही तत्काल फिर्ता लिन एमालेको माग (भिडियो रिपोर्टसहित)

२७ चैत २०७८ काठमाडौं । नेकपा (एमाले)ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्नेगरी थालिएको निलम्बनको कारबाही तुरुन्त फिर्ता लिन माग दिएको छ ।

आज प्रमुख प्रतिपक्ष पार्टी एमालले वर्तमान मुलुकको अर्थतन्त्रको विषयमा पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्नेगरी थालिएको निलम्बनको कारबाही तुरुन्त फिर्ता लिन चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले राष्ट्र बैंकका गभर्नर निलम्बन गर्ने काम गलत गरेको बताउनुभयो । सरकारले गभर्नरलाई निलम्बन गरेर गलत अभ्यास गरेको भन्दै पौडेलले यो कदम तत्काल नसच्याए अर्थतन्त्र धराशायी र यसबाट गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनु भयो ।

पूर्वअर्थमन्त्री पौडेलले अर्थतन्त्रको बिग्रँदो अवस्थामा सार्थक हस्तक्षेप नगर्ने हो भने नेपाललाई श्रीलंका हुनबाट कसैले रोक्न नसक्ने बताउनुभयो । आफू अर्थमन्त्री हुँदा ल्याएको लोकप्रिय बजेट असफल पार्न ल्याइएको प्रतिस्थापन विधेयकका कारण देश गम्भीर संकटमा फस्दै आएको दाबी गर्नू भयो।

सरकारका आर्थिक नीति नै संकटतर्फ धकेल्ने खालका भएको भन्दै पौडेलले प्रधानमन्त्री वा मन्त्रीले श्रीलंका बन्न दिन्नौं भन्दैमा पत्याउने अवस्था नरहेको बताउनु भयो । पूर्वअर्थमन्त्री पौडेलले आफूहरूले सरकार छाडेपछिको ९ महिनामा मुलुकको अर्थतन्त्र कुनै व्यक्तिको गलत नीति र सनकका कारण तहसनहस भएको दाबी गर्नुभयो ।

त्यस्तै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले कोरोना महामारी पछि रुस र युक्रेनको युद्धका कारण अर्थतन्त्रमा थपिएको चुनौतीका बीचमा सरकारले राष्ट्र बैंकका गभर्नर निलम्बन गरेर गलत काम गरेको बताउनुभयो । उहाँले अब बजेट निर्माण तथा मौद्रिक नीति बनाउनुपर्ने अवस्थामा गभर्नरलाई बाहिर राख्ने काम भएको बताउनु भयो ।

सरकार अहिले मुलुकमा देखिएको आर्थिक समस्या समाधान गर्ने भन्दा पनि गभर्नर निलम्बन गर्ने काम शंकात्मक रहेको पाण्डेले बताउनुभयो । उहाँले विदेशबाट आएको पैसा छानबिन भइरहेको अवस्थामा गभर्नरलाई अर्थमन्त्रीले पत्र लेखेर फलानालाई पैसा दिनु भन्नै नमिल्ने बताउनुभयो ।

पूर्वअर्थमन्त्री पाण्डेले अर्थमन्त्रीले अनुसन्धान भइरहेको अवस्थामा कुनै एक व्यक्तिको पैसा दिनु भनेर भन्नु अपराध भएको बताउनुभयो। पछिल्लो समय श्रीलंकाको अर्थमन्त्री भाग्ने अवस्था आएको भन्दै नेपालका अर्थमन्त्री पनि भाग्नु पर्ने अवस्था देखिएको पाण्डेले बताउनुभयो । उहाँले ऐन र कानूनभन्दा बाहिर गएर कसैले चल्न नमिल्ने भन्दै पाण्डेले अर्थमन्त्रीले यो गलत काम गरेको बताउनुभयो ।

त्यस्तै पूर्वअर्थमन्त्री तथा पूर्व गभर्नर डा. युवराज खतिवडाले नेपाली कांग्रेसको सरकारले गभर्नरमाथिको पूर्वाग्राही कारबाही गैरकानुनी हुने भनेर कहिल्यै पनि ख्याल नगरेको आरोप लगाउनु भयो । उहाँले यस अगाडि पनि नेपाली कांग्रेसकै सरकारले दुई वटा गभर्नरलाई निलम्बन गर्दा अदालतले फिर्ता पठाएको इतिहास सुनाउनु भयो ।

पूर्वअर्थमन्त्री खतिवडाले २०५८ को नेपाल राष्ट्र बैंकको ऐन पछि केन्द्रीय बैंकको गभर्नरलाई स्वायत मात्रै नभर जिम्मेवार बनाएको बताउनुभयो । उहाँले गभर्नरले निकै ठूलो अक्षम्य अपराध नगरेसम्म कुनै कारबाही नहुने दाबी गर्नुभयो । खतिवडाले गठबन्धन सरकारले सबैसँग अर्थतन्त्रको विषयमा छलफल गर्नु पर्ने अवस्थामा आफ्नो नालायकीपन छोप्न गभर्नरलाई निलम्बन गरेको बताउनुभयो ।

उहाँले अराजक अर्थमन्त्रीको प्रभावमा प्रधानमन्त्रीले गलत नीति लिएको बताउनुभयो । पूर्व अर्थमन्त्री खतिवडाले वित्तीय अपचलन गर्न नपाएको निहितस्वार्थ समूहको स्वार्थ पूरा गर्न नपाएको, अर्थतन्त्र सम्हाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा गठबन्धनबाट समेत उठिरहेका बेला अर्थमन्त्रीकै दबाबमा आफ्नो अपराध ढाक्न खोजिएको दाबी गर्नु भयो ।

पूर्वअर्थमन्त्री तथा गभर्नर खतिवडाले नेपालको आर्थिक अवस्था संकट उन्मुख रहेको बताउनुभयो । उहाँले पछिल्लो समय मुलुकमा विदेशी मुद्रा सञ्चिति घट्दै गएको भन्दै मुद्रा सञ्चिति कम हुँदै जानु भनेको मुलुकमा आर्थिक संकटको ंसकेत भएको दाबी गर्नु भयो ।

अहिलेको गठबन्धन सरकारको ध्यान अर्थतन्त्र सुधार गर्ने भन्दा पनि निहित स्वार्थ पुरा गर्ने काम गरेको आरोप लगाउनुभयो । बाह्य क्षेत्र संकट उन्मुख भएकाले सरकारले तत्काल बाह्य क्षेत्र व्यवस्थापन गर्न नसके अवस्था गम्भिर हुने बताउनुभयो । उहाँले यो वर्ष २२ खर्बको आयात हुने देखिएको बताउनुभयो । सरकारले डिजिटल रुपमा हुने कारोबार रोक्न नसक्दा बैंकिङ तरलतामा समस्या आएको खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्