फुटपाथमा मनपरी : हिँड्न पाउँदैनन् पैदलयात्रु (भिडियो रिपोर्टसहित)

२३ चैत २०७८ काठमाडौं । संघीय राजधानी काठमाडौंमा पैदलयात्रुका सुरक्षित फुटपाथको असुविधा छ । अधिकांश भित्री गल्लीमा फुटपाथ छँदै छैनन् भने मुख्य सडककै फुटपाथको अवस्था भद्रगोल छ । भएका फुटपाथ पनि अतिक्रमणको चपेटामा छन् ।
संघीय राजधानी काठमाडौंमा सरकारले बल्लतल्ल बनाएका फुटपाथ पनि व्यवसायी वा यस्था संस्थाहरुले अतिक्रमण गर्ने गरेका छन् ।
यहाँको फुटपाथ चल्तीको मल्पी सिटी विद्यालयले जस्तापाताले घेरेर प्रयोग गरिरहेको छ ।
एक त यहाँको फुटपाथ पैदलयात्रु मैत्री थिएन् । त्यसैमाथि मल्पी स्कूलले बीचैमा जस्ताको बार लगाएर फुटपाथ नै कब्जा गरेको छ । फुटपाथ नै गायब भएपछि पैदलयात्रु जोखिम मोलेरै सवारी साधन हुइँकिने मुख्य सडक भएर आवतजावत गर्न बाध्य छन् ।
फुटपाथ अतिक्रमण गर्ने मल्पी विद्यालय एउटा उदाहरण मात्रै हो । राजधानीका धेरै स्थानमा फुटपाथ निर्वाध रुपमा अतिक्रमण भैरहेका छन् । कतै फुटपाथमा विद्युतका पोल गाडिएको छ , कतै निर्माण सामाग्री थुपारिएको छ भने कतै नीजि घर उभिएका छन् । कतै कतै उपलब्ध फुटपाथ पनि यात्रुमैत्री छैनन् । बृद्ध बृद्धा, बालबालिका र बिशेष शारिरिक क्षमता भएका व्यक्तिका लागि त झनै उपयोगी छैनन् ।
काठमाडौं उपत्यकामा केही वर्ष पहिले सडक बिस्तार अभियानपछि सवारी साधनका लागि सडक फराकिलो त पारियो तर फुटपाथ निर्माणमा ध्यान नदिँदा पैदलयात्रुलाई समस्या भएको छ । उपत्यकामा फुटपाथको दुरावअस्थाको विषयमा सरोकारवालालाई अवगत भए पनि समाधानका लागि भने ध्यान दिएको देखिँदैन् ।
प्रतिक्रिया