Main News

निर्देशिका नै संशोधन गरिएपछि टेलिकममा तनाव (भिडियो रिपोर्टसहित)

२०७८ चैत २३ गते २०:४४
निर्देशिका नै संशोधन गरिएपछि टेलिकममा तनाव (भिडियो रिपोर्टसहित)

२३ चैत २०७८ काठमाडौं । तत्कालीन प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल सकिएपछि नेपाल टेलिकम नेतृत्वविहीन छ । नयाँ प्रबन्ध निर्देशक छनोटको प्रक्रिया चलिरहँदा टेलिकमका कर्मचारी युनियनहरु भने खबरदारीमा उत्रिएका छन्। संस्था भन्दा बाहिरको व्यक्तिलाई ल्याउन निर्देशिका नै संशोधन गरिएको भन्दै टेलिकमभित्रैका बरिष्ठ अधिकारीलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिनुपर्ने उनीहरुको माग छ ।

नेपाल टेलिकमको रिक्त प्रबन्ध निर्देशकका लागि छनोट भएका ९ जनाको अन्तर्वार्ता र व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण भइरहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित छनोट समितिले यीनै ९ जना मध्येबाट ३ जनाको नाम प्रवन्ध निर्देशक नियुक्तिका लागि सरकारलाई सिफारिस गर्नेछ । छनोट प्रक्रिया चलिरहँदा टेलिकमका कर्मचारी भने बाहिरका व्यक्तिलाई टेलिकम ल्याउन लागेको भन्दै विरोधमा उत्रिएका छन् ।

प्रबन्ध निर्देशकका लागि अर्जुनबाबु ढकाल, दीपक बहादुर शाही, अमलेन्दु नारायण सिंह, प्रदीपराज उपाध्याय, नगेन्द्रकुमार दास, बुद्धि प्रसाद आचार्य, सुरज सिंह, संगीता पहाडी र सुनिल पौडेल प्रतिस्पर्धामा छन् । यी मध्येबाट सेटिङमा टेलिकमको क्षेत्रमा ज्ञान नै नभएकालाई ल्याउन लागिएको आरोप छ ।

बाहिरबाटै प्रबन्ध निर्देशक ल्याउने तयारीमा सरकारले निर्देशिकामा शैक्षिक योग्यता, उमेर हद र कार्यअनुभव नै हेरफेर गरिसकेको छ । ५८ वर्षको उमेर हद घटाएर ५६ बनाइएको छ । १५ वर्ष काम गरेको अनुभव चाहिनेमा १२ वर्ष बनाइएको छ । सूचना प्रविधि वा कम्युटर इञ्जिनियरिङभन्दा फरक विषय बढेको व्यक्ति पनि प्रवन्ध निर्देशक हुनसक्ने नयाँ प्रावधान राखिएको छ ।

टेलिकमको नेतृत्वका लागि मंसिर २२ मा आवेदन खुलाइएपछि नै सरकारले ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका, २०७५’ लाई संशोधन गरेको थियो ।

यसलाई लिएर टेलिकमका पूर्वकर्मचारीले सरकारविरुद्ध सर्वोच्च र उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । तर चैत १६ गते सर्वोच्चले नियुक्ति प्रक्रियाविरुद्ध परेका रिट नै खारेज गरिसकेकाले यसबारे अनावश्यक प्रश्न उब्जाउन आवश्यक नरहेको मन्त्रालयका प्रवक्ता विनोद प्रकाश सिंह बताउनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *