खेलकूद

एएफसी कप छनोट : मच्छिन्द्र क्लब श्रीलङ्काको ब्लु स्टारसँग पराजित

हिमालय टिभी
२०७८ चैत २२ गते २०:५८
एएफसी कप छनोट : मच्छिन्द्र क्लब श्रीलङ्काको ब्लु स्टारसँग पराजित

२२ चैत २०७८ काठमाडौं । मच्छिन्द्र फुटबल क्लब एएफसी कप छनोट प्रतियोगिताअन्तर्गत पहिलो खेलमै पराजित भएको छ । मच्छिन्द्रले श्रीलङ्काको ब्लु स्टार स्पोर्टस् क्लबसँग २–१ गोलअन्तरले हार ब्यहोरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा मच्छिन्द्रले अपेक्षा गरेअनुसारको खेल प्रदर्शन गर्न सकेन । उसका लागि कप्तान सुजल श्रेष्ठले मात्र गोल गर्न सके ।

श्रीलङ्काको ब्लु स्टारका लागि मोहमद इशान र सेनल सन्देशले एक एक गोल गरे । मच्छिन्द्रले पटक पटक गोल गर्ने अवसर प्राप्त गरेको थियो । तर त्यसको सदुपयोग गर्न भने सकेन ।

खेलको २४औँ मिनेटमा इशानले गोल गर्दै ब्लु स्टारलाई अग्रता दिलाएका थिए । खेलको २७औँ मिनेटमा ब्लु स्टारका सन्देशले आफ्नो टोलीका लागि अर्को गोल गरे । मच्छिन्द्रका लागि खेलको इन्जुरी समयमा श्रेष्ठले गोल गरेका थिए ।

मच्छिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेलेको हो । गत वर्ष उक्त छनोट प्रतियोगितामा नेपालबाट त्रिभुवन आर्मी फुटबल क्लब सहभागी भएको थियो । अब ब्लु स्टारले दोस्रो चरणको खेल यही चैत २९ गते भारतको मोहन बगान क्लबसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्