गाउँगाउँमा सिंहदरबार : गरिब र निमुखाको दैनिकीमा आएन कुनै परिवर्तन (भिडियों रिपोर्टसहित)

२०७८ चैत २२ गते २०:४३
गाउँगाउँमा सिंहदरबार : गरिब र निमुखाको दैनिकीमा आएन कुनै परिवर्तन (भिडियों रिपोर्टसहित)

२२ चैत २०७८ कञ्चनपुर । गाउँगाउँमा सिंहदरबार भनेर स्थानीय निर्वाचन भयो । पहिलो पटक निर्वाचित सरकारले एउटा कार्यकाल पूरा गर्न लागिसक्यो । यसबीचमा हुने खाने र पहुँचवालाले लाभ पनि पाए तर, गरिब र निमुखाको दैनिकीमा कुनै परिवर्तन आउन सकेको छैन ।

मानमति सार्की ५८ वर्ष पुग्नुभयो । पछिल्लो १५ वर्षदेखि उहाँ महाकाली नदी किनारमा बालुवा चाल्ने काम गर्नुहुन्छ । महाकाली किनारमा पुग्न पनि डेढ घण्टा हिँड्नुपर्छ । फर्किन त्यति नै लाग्छ । चार जनाको परिवार धान्न मानमति लाई बालुवा चाल्नुको विकल्प छैन ।

दिनभरी घामपानी नभनी गरेको कामबाट एक ट्राली बालुवा छान्दा एक हजार रुपैयाँ आउँछ । तर, पाको उमेरका कारण आधाभन्दा बढी चाल्न सक्नुहुन्न । दिनको कमाई जम्मा पाँच सय ।

त्यही कमाइले घरमा रासनको जोरजाम हुन्छ । भीमदत्त नगरपालिका १२ को ओदालीमा बस्ने सानुदेवी सुनार पनि यहीँ बालुवा चाल्ने काम गर्नुहुन्छ । झण्डै १० वर्षदेखि उहाँ यही काम गरिरहनुभएको छ । गाउँगाउँमा सिंहदरबार आयो भन्छन् । उहाँहरु दुबैले त्यसको अनुभूति गर्न पाउनुभएको छैन । यहाँ काम गर्ने सबैको कथा लगभग उस्तै छ ।

वर्षा सक्किएपछि महाकाली नदीले बगाएर ल्याएको बालुवा चाल्ने र गिट्टी कुट्ने सिजन शुरु हुन्छ । खेतीपातीको याममा यहाँ काम गर्नेको संख्या केही कम भए पनि सिजनमा दैनिक सात सयदेखि एक हजार जनासम्म बालुवा चाल्न र गिट्टी कुट्ने काममा सहभागी हुन्छन ।

स्थानीय सरकार आएको ५ वर्ष पुग्न लाग्यो । तर, गरिब जनताले त्यसको अनुभूति गर्न पाएका छैनन् । उनीहरुको दैनिकी हात मुख कसरी जोड्ने भन्नेमै सीमित हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *