निर्वाचनपछि मुलुकमा झ्याप्पै राम्रो दिन आउने एमाले अध्यक्ष ओलीको दाबी
२१ चैत २०७८ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनपछि मुलुकमा राम्रो दिनको शुुरुवात हुने बताउनु भएको छ ।
अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनपछि आफ्नो पार्टी आउने र मुलुकका लागि राम्रो दिनको शुरुवात हुने दावी गर्नु भएको हो । निर्यात् उद्योग व्यवसायी महासंघ, नेपालले आज काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उहाँले संघीय संसदको निर्वाचनपछि भने आफ्नो पार्टी सरकारमा आउने भएकाले पूरै राम्रो दिन आउने जिकीर गर्नु भयो ।
ओलीले आफ्नो पार्टी निकट निर्यात व्यवसायीहरुलाई पनि निर्वाचन प्रचारका लागि समय निकाल्न आग्रह गर्नुभयो । अब कोभिड पनि समाप्त हुने चरणमा पुगेकाले व्यवसायीका लागि पनि अबको दिन भने राम्रो हुने उहाँको भनाइ थियो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले त हामी चुनावतिर छौं । तपाईहरुले पनि यसो समय निकाल्नु होला । सके प्रचारप्रसार गर्नु होला । सक्नु भएन भने भोट हाल्नु होला । अब मैले योभन्दा धेरै अरु केही भनिरहनु पर्ला जस्तो लाग्दैन । अब कोभिड पनि समाप्त हुँदैछ । हाम्रो राम्रा दिनहरु अब आउन शुुरु हुन्छ । स्थानीय तह निर्वाचन पछि राम्रा दिन शुरु हुन्छ । पछिको निर्वाचनबाट झ्याप्पै राम्रा दिन आउँछ ।’
ओलीले स्वदेशी वस्तुको उत्पादन गरी मुलुकमा निर्यात व्यापार बढाउन पनि व्यवसायीहरुलाई आग्रह गर्नु भयो । उहाँले अनाआवश्यक क्षेत्रमा लगानी नगर्न र आफ्ना वस्तुहरुको बजारीकरणमा नेपालले जोड दिनुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।
ओलीले मुलुक रेमिट्यान्सले धानिएको उल्लेख गर्दै अब त्यसको भर पर्न नहुने पनि पटकपटक दोहोराउनु भयो ।
प्रतिक्रिया