२१ चैत २०७८ काठमाडौं । दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी सिरिजको उपाधि जितेको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई ५० रनले हराउँदै सिरिज आफ्नो पक्षमा पारेको हो । १ सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ ओभर १ बलमा १ सय १८ रनमा अलआउट भयो ।
पीएनजीका सेसे बाउले सर्वाधिक ५९ रनको अर्धशतकीय पाली खेल्दा चाल्र्स् अमिनीले १५ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । पीएनजीविरुद्ध धारिलो बलिङ गरेका दीपेन्द्रले ४ ओभरमा १८ रन खर्चिएर ४ विकेट लिए ।
त्यस्तै, तीव्र गतिका बलर करण केसीले ३ र कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे । यसअघि, टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनायो ।
मध्यम सुरुवात गरेको नेपालले १२ औं ओभरमा मात्र ३ विकेट गुमाउँदा ५ विकेटको क्षतिमा ८२ रन मात्र थियो । कुशल भुर्तेलले २५ रन बनाउँदा अर्का ओपनर आसिफ शेखले २९ रन जोडे । मध्येक्रममा ब्याटरहरु खासै जम्न नसक्दा दीपेन्द्रले नेपालको पाली उकासे ।
दीपेन्द्रले तल्लो क्रममा आएका करण केसीसँग ५४ रनको साझेदारी गर्दै नेपाललाई मध्यम योगफल दिलाए । ३८ बलको सामना गरेको दीपेन्द्रले ५ चौकासहित सर्वाधिक नटआउट ५४ रन बनाए । ३५ बलमा ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रियमा दीपेन्द्रले आफ्नो करिअरको पाँचौं अर्धशतक पुरा गरे ।
ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रियमा १ हजार रन पुरा गर्ने उनी पहिलो खेलाडी हुन् । बिष्फोटक ब्याटिङ गरेका करणले १२ बलमा ५ चौका र १ छक्कासहित नटआउट ३३ रन जोडे ।
नेपाली ब्याटरमाथि दबाब बनाएको पिएनजीका सेमो कमियाले ४ ओभरमा १ मेडनसहित २८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै, चाद सोपर, काबुआ मोरेआ र राइली हेकुरेले १(१ विकेट लिए ।
प्रतिक्रिया