माधवकुमार नेपालसहित १४ जना संसदविरुद्ध ओलीद्वारा दायर रिटमा आज सुनुवाइ

२० चैत २०७८ काठमाडौं । नेकपा एमालेले निष्कासन गरेका माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्धको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ।
सुनुवाइका लागि न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको छ। मुद्दाको सुनुवाइ सार्न नेपाल पक्षबाट दिइएको निवेदन न्यायाधीशद्वय सिन्हा र सुवेदीको इजलासले अस्वीकार गरेको छ।
निवेदन अस्वीकारसँगै पालो आएमा मुद्दामा सुनुवाइ शुरु हुनेछ। यसअघि फागुन २९ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले सुनुवाइका लागि पेश गर्न आदेश दिएको थियो।
निवेदकले संवैधानिक तथा कानुनी प्रश्न उठाएको भन्दै छिटोछरितो निरुपण गर्ने गरी रुपमा सुनुवाइ गर्न आदेश दिइएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगलाई विपक्षी बनाई नेपालसहित १४ सांसदलाई पार्टीबाट निष्कासन गरेपछि कारबाहीका लागि सभामुख अग्निप्रसाद सापकोटालाई पत्राचार गर्नु भएको थियो।
तर सभामुख सापकोटाले कुनै कारबाही अघि नबढाएको र आयोगले पनि नेपाल नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिएपछि ओलीले सर्वोच्च अदालतमा मुद्दा हाल्नु भएको थियो। यही विषयलाई लिएर एमालेले लामो समयदेखि निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ ।
प्रतिक्रिया