पृथ्वी राजमार्ग आसपासका होटलमा ठगिन्छन् ग्राहक (भिडियो रिपोर्टसहित)

२०७८ चैत १९ गते २०:५३
पृथ्वी राजमार्ग आसपासका होटलमा ठगिन्छन् ग्राहक (भिडियो रिपोर्टसहित)

१९ चैत २०७८ धादिङ । कुनै पनि व्यवसायीका लागि उपभोक्ता अर्थात ग्राहक भगवान रुपी हुन्छन् । उपभोक्तालाई यस अर्थमा भगवानको दर्जा दिइन्छ कि उपभोक्ताको प्रवेश भएन् भने कुनै पनि व्यवसाय उभो लाग्न सक्दैन् भने व्यवसायीको हातमुख जोर्न मुश्किल पर्छ । तर पृथ्वीराजमार्ग आसपासका सयौं होटल तथा खाजा घर तिनै भगवान रुपी उपभोक्तालाई ठगी खान पल्केका छन् ।

धादिङको पृथ्वीराजमार्ग छेउछाउका धेरैजसो होटल तथा खाजा पसलमा राम्रो र गुणस्तरीय खाना खान पाइँदैन । गुणस्तर नभएको खाना तथा खाजा पनि अचाक्ली महंगो भएको यात्रुहरुको गुनासो छ । त्यति मात्र हैन, खाना राम्रो भएन भन्ने सुझाव दिँदा उल्टै व्यवसायीको रुखो जवाफ आउने गरेको यात्रुहरु बताउँछन् ।

कम गुणस्तर तथा बासी खाना महंगो मूल्यमा भए पनि खानुपर्ने बाध्यता छ यात्रुहरुलाई । सवारी चालक र होटल व्यवसायीबीच सम्झौता भई मुनाफा बाँडफाट हुने भएकाले समस्या नघेटेको यात्रुहरु बताउँछन् । खाना मात्र हैन मूल्य लेखिएका प्याकिङ खानेकुरा पनि दुई तीन गुणासम्म मूल्य तिर्नु परेको यात्रुहरु बताउँछन् ।

यात्रुहरुले नियमित रुपमा समस्या भोगिरहँदा र होटल व्यवसायीले आर्थिक उपार्जनका लागि गैरकानुनी काम गरिरहँदा व्यवस्थित गर्न सम्बन्धित निकायले ध्यान दिएको छैन ।

दुई तीन महिनामा एक पटक अनुगमन गरेजस्तो गर्ने तर दीर्घकालीन समाधानका लागि चासो दिएको देखिँदैन । दैनिक रुपमा उपभोक्ता ठगिइरहेका छन् तर सम्बन्धित निकाय आफूहरु समाधानमा लागि रहेको बताउँछ ।

सम्बन्धित निकायमा रहने व्यक्तिले कारवाही गरिहाले पनि शक्ति र सत्ताको आडमा गैरकानुनी काम गर्नेहरु छुट्छन् । त्यति मात्र हैन कारवाही गर्ने निकायका कर्मचारी सरुवा समेत हुने गरेको छ । जसका कारण उपभोक्ता आफ्नो अधिकार पाउनबाट बञ्चित छन् भने व्यवसायी गुणस्तर हिन खाना महंगो मुल्यमा बेचेर मोटाइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *