खेलकूद

नेपाल त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेटको फाइनलमा, मलेसिया ८५ रनले पराजित

हिमालय टिभी
२०७८ चैत १९ गते १६:४४
नेपाल त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेटको फाइनलमा,  मलेसिया ८५ रनले पराजित

१९ चैत २०७८ काठमाडौं । त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी शृङ्खलाको फाइनलमा नेपाल र पपुवा न्यू गिनी (पीएनजी)बीच प्रतिस्पर्धा हुने भएको छ ।

समूह चरणको अन्तिम खेलमा दीपेन्द्रसिंह ऐरीको शतकको मद्दतमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेपछि पीएनजीले फाइनलमा स्थान बनाएको हो । मलेसियासँग समान दुई अंक भए पनि पीएनजी नेटरनरेटमा अगाडि रहँदै फाइनलमा पुगेको हो । अपराजित रहँदै फाइनलमा स्थान बनाएको नेपालको ८ अंक भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा २२४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १९ दशमलव ५ ओभरमा १ सय ३८ रन बनाउँदा अलआउट भयो । मलेसियाका वीरनदीप सिंहले सर्वाधिक ४७, कप्तान आहमद फैजले ३३, ऐनोल हफिजले १८, सेइद अजिजले १७ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन । दुई ब्याटरले रनको खाता नै खोल्न नै सकेनन । नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट हात पारे ।

कमलसिंह ऐरी र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । कुशल भुर्तेल र रोहितकुमार पौडेलले आफ्नो ट्वेन्टीट्वेन्टी अन्तर्राष्ट्रिय करियरमा १र१ विकेट लिँदै पहिलो विकेट लिन सफल भए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा २ सय २३ रन बनायो । दीपेन्द्र १ सय १० रनमा अविजित रहे । ५७ बलको सामना गरेका दीपेन्द्रले १० चौका र ६ छक्का प्रहार गरे ।दीपेन्द्र एक दिवसीय र ट्वेन्टीट्वेन्टी अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बने ।

यसअघि पूर्वकप्तान पारस खड्काले दुवै फर्म्याटमा शतक प्रहार गरेका थिए । यस्तै रोहित पौडेलले ट्वेन्टीट्वेन्टी अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक प्रहार गरे । रोहितले ३४ बल खेल्दै ५ चौका मद्दतमा ५१ रन बनाए । दीपेन्द्र र रोहितले तेस्रो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए ।

ओपनर आसिफ शेखले १८ र कुशल भुर्तेलले १२ रन बनाए । आरिफ शेख २ रन बनाएर आउट भए । आदिल अन्सारीले १४ रन जोडे । मलेसियाका मुहम्मद वाफिक, पवनदिप सिंह, स्याज्रुल ईद्रुस र मुहम्मद अमिरले १-१ विकेट लिए । फाइनल खेलमा पर्सि नेपाल र पीएनजीबीच हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्