राजनीति

कांग्रेसले देशको हित र आवश्यकतालाई हेरेर परराष्ट्र नीति सञ्चालन गर्छः प्रवक्ता डा महत

२०७८ चैत १९ गते १६:२०
कांग्रेसले देशको हित र आवश्यकतालाई हेरेर परराष्ट्र नीति सञ्चालन गर्छः प्रवक्ता डा महत

१९ चैत २०७८ काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रेसले देशको हित र आवश्यकतालाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्ने बताउनुभएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशले आज यहाँ आयोजना गरेको ‘दोस्रो किसुनजी स्मृति राष्ट्रिय खुल्ला महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता पुरस्कार वितरण’ कार्यक्रममा बोल्दै उहाँले कांग्रेसले देशको आवश्यकतालाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताउनुभएको हो । “कांग्रेसले सत्तामा हुँदा पनि नहुँदा पनि एउटै नीति अवलम्बन गर्छ,” उहाँले भन्नुभयो ।

प्रवक्ता डा महतले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका बारेमा छलफल गर्न सबै राजनीतिक दललाई बोलाएको स्पष्ट पार्नुभयो । उहाँले विपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीले भनेजस्तो फोन पनि गर्नुभएन भन्ने आरोप निराधार भएको बताउनुभयो । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएका डा महतले प्रधानमन्त्री देउवाले भारत भ्रमणका अवसरमा नेपालको हित र राष्ट्रिय चासोका सबै विषयहरु कुरा उठाउने बताउनुभयो । उहाँले नेपाल र भारतका बीचमा सीमा समस्याबाहेक अन्य सम्बन्ध सुमधुर रहेको बताउनुभयो ।

प्रवक्ता डा महतले खेलकुदमा युवाको मोह रहेको र यसका विधा पनि व्यापक भएकाले यसको विकासमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “यसमा थोरै लगानी गरे पनि धेरै प्रतिफल आउँछ, त्यसैले यसलाई प्राथमिकतामा राख्नुपर्दछ”, उहाँले भन्नुभयो ।

उहाँले त्यागी, सादा र सरल व्यक्तित्वका धनी नेपाली कांग्रेसका संस्थापक नेता, पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको योगदानलाई पुनः स्मरण गराउदै कांग्रेसको इतिहासलाई वर्तमान युवा पुस्तासँग जोड्न खेलकुद प्रतियोगिता आयोजना गरेकोमा सबैलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्