रुसी राष्ट्रपति पुटिन र सैन्य नेतृत्वबीच विवाद रहेको अमेरिकी दाबी
१७ चैत २०७८ न्युयोर्क । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र त्यहाँको सैन्य नेतृत्वबीच विवाद रहेको दाबी गरेको छ ।
पुटिनले सैन्य सल्लाहकारबाट भ्रममा परेको महशुस गरेको अमेरिकी दाबी छ । उता बेलायतले रुसी सेनाले कैयौं पटक राष्ट्रपतिको आदेशको पालना अस्वीकार गरेको बताएको छ । उता युक्रेनको चेर्निहिभ क्षेत्रका गभर्नरले उक्त क्षेत्रमा सैन्य गतिविधि घटाउने वाचा विपरीत रुसी आक्रमणमा कमी नआएको बताएका छन् ।
टर्कीमा भएको शान्ति वार्तापछि रुसले उत्तरी युक्रेनको किभ र चेर्नीहिभ क्षेत्रमा आफ्नो सैनिक गतिविधि कटौती गर्ने बताएको थियो ।
त्यस्तै मारिपोलमा रहेका युक्रेनी सैनिकले आत्मसमर्पण गरेपछि मात्रै गोलाबारी रोकिने रुसी भनाइ छ । यसअघि युक्रेनले कुनै पनि हालतमा आत्मसमर्पण नगरिने बताइसकेको छ । आज मारिपोलमा फसेकाहरुको उद्धारका लागि मानवीय सहायता मार्ग खुला हुँदैछ ।
यसैबीच रुसी विदेश मन्त्री सर्गेई लाभरोभले आजदेखि भारतको दुई दिने भ्रमण गर्दैछन् । युक्रेनमाथि गएको फेब्रुअरी २४ मा आक्रमण गरेपछि पहिलो पटक रुस र भारत सरकारबीच पहिलो उच्चस्तरीय बैठक हुन लागेको हो ।
विदेश मन्त्री लाभरोभको भारत यात्राको प्रमुख मुद्दा रुसबाट सस्तोमा तेल खरिद हुन सक्ने भारतीय सञ्चारमाध्यले जनाएका छन् ।
प्रतिक्रिया