Main News

सहप्राध्यापकले नै उत्तरपुस्तिका केरमेट गरेपछि …

२०७८ चैत १६ गते ६:४७
सहप्राध्यापकले नै उत्तरपुस्तिका केरमेट गरेपछि …

१६ चैत २०७८ काठमाडौं । देशको जेठो विश्वविद्यालयका कर्मचारी इमान्दार, लगनशील र कानून कार्यान्वयनमा अब्बल हुनुपर्छ ।

उनीहरुलाई आ–आफ्नो जिम्मेवारी सुम्पिइएको छ तर इतिहास बोकेको विश्वविद्यालयमा कार्यरत कर्मचारीले नै गलत काम गरेभने त्यो सरासर गैरकानूनी मात्रै हुँदैन, अख्तियारको दुरुपयोगसमेत हुन्छ ।

यस्तै भएको छ जेठो विश्वविद्यालयको त्रिवि सेवा आयोगमा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा दायर गरेको मुद्दाका आधारमा हेर्दा आयोगमा कार्यरत कर्मचारीले परीक्षामा अनाधिकृतरूपमा चलखेल गरेको पाइएको छ । आयोगले २०७३ फागुन १८ गते प्रकाशित विज्ञापन नं १८÷०७३÷०७४ सँग सम्बन्धित उपप्रशासक, पुस्तकालय अधिकृत, अधिकृत (इन्जिनियर), प्राविधिक अधिकृत (कम्प्युटर), मुख्य प्राविधिक सहायक (कम्प्युटर), लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक ( कम्प्युटर) पदको लिखित परीक्षामा अख्तियारको दुरुपयोग गरेको पाइएको छ ।

ती पदको लिखित परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल गरी सक्षम र उत्कृष्ट उम्मेदवारलाई पाखा लगाई उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा व्यापक अनियमितता गरेको पाइएको आयोगले स्पष्ट पारेको छ ।

प्राप्ताङ्क केरमेट गरेको, थपघट गरी नतिजा फेरबदल गरेको, उत्तर नलेखेकोमा समेत अङ्क प्रदान गरी उत्तीर्ण गराएको समेत पाइएको छ । आयोगले लेखा सहायक पदको प्रथमपत्रको परीक्षण गर्ने सहप्राध्यापक केशव घिमिरे, लेखा सहायकको दोस्रो पत्रको परीक्षण गर्ने सहप्राध्यापक राजेश्वर न्यौपानेविरुद्ध मुद्दा दायर गरिएको छ ।

यस्तै पुस्तकालय सहायक पदको दोस्रो पत्रको परीक्षण गर्ने पुस्तकालय सहप्रशासक इन्दिरा घिमिरे, उत्तरपुस्तिका रुजु गर्न आयोगका तत्कालीन प्रमुख परशुराम कोइराला र मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

उनीहरुलाई रु तीन महिनादेखि एक वर्षसम्म कैद र रु पाँच हजारदेखि रु १० हजारसम्मको जरिवानाको मागदावी गर्दै मुद्दा दायर गरिएको आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *