एक दिवसीय क्रिकेटमा नेपालको दोस्रो हार, पपुवा न्युगिनी तीन विकेटले विजयी
१२ चैत २०७८ काठमाडौं । नेपालले पाहुना टोली पपुवा न्युगिनी पीएनजीविरुद्धको दुई खेलको एकदिवसीय क्रिकेट शृङ्खला गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको दोस्रो एकदिवसीयमा नेपाललाई ३ विकेटले हराउँदै पीएनजीले सिरिज २–० ले जितेको हो । हिजो भएको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो ।
नेपालले दिएको २ सय ७९ रनको लक्ष्य पीएनजीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा भेट्टायो । पीएनजीका ओपनर लुगा साइकाले सर्वाधिक ९० रन जोडे। रिले हिकारे ४७ र चाड सोपर १६ रनमा अविजित रहे । सिसी बाउले ३८, चार्ल्स अमिनी ३५, हिरी हिरी १३ र नर्मन भानाउ ११ रनमा आउट भए । नेपालका सोमपाल कामीले ३, पवन सर्राफले २ तथा सन्दीप लामिछाने र आरिफ सेखले १–१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले देव खनाल र दीपेन्द्र सिंह ऐरीको कीर्तिमानी शतकीय साझेदारीमा निर्धारित ओभरमा ८ विकेट गुमाएर २७८ रन बनाएको थियो । देव र दीपेन्द्रले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे । पाँच रनमै दुबै ओपनर गुमाए पनि देव र दीपेन्द्रले इनिंग्स सम्हाले । देव र दीपेन्द्र १२९ रनको कीर्तिमानी साझेदारी गरे ।
तेस्रो विकेटका लागि एक वर्षअघि ज्ञानेन्द्र मल्ल र रोहितकुमार पौडेलले पीएनजीविरुद्ध नै ८९ रनको साझेदारी गरेका थिए । त्यस्तै नेपालका लागि हिजो नै पीएनजीविरुद्ध पाँचौ विकेटका लागि रोहित र आरिफ शेखबीच १०४ रनको साझेदारीको कीर्तिमान बनेको थियो । नेपालका लागि दीपेन्द्रले १०५ रनको शतकीय इनिंग्स खेले ।
पहिलो अन्तर्राष्ट्रिय शतक बनाउने क्रममा १४० बलको सामना गरेका दीपेन्द्रले ७ चौका प्रहार गर्दै १०५ रन बनाए । त्यस्तै देव खनालले अन्तर्राष्ट्रिय एक दिवसीयमा पहिलो अर्धशतक बनाए । खनालले ८६ बलमा चार चौका र तीन छक्कासहित ७२ रन बनाउँदा रोहित ३५ र भीम सार्की २६ रनमा पेभेलिएन फर्के । बलिङमा पीएनजीका एली नाउले तीन तथा नोरमन भानेउले दुई विकेट लिए ।
यसैबीच, नेपालका कप्तान सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो ५० विकेट पूरा गरेका छन् । आजको खेलमा चार्ल्स अमिनीलाई एलबीडब्लु आउट गर्दै लामिछाने एकदिवसीयमा ५० विकेट लिने पहिलो नेपाली खेलाडी बनेका हुन् ।
सन्दीपले २२ खेल खेल्दै ५० विकेट पुरा गरेका हुन् । सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो सबैभन्दा चाडो ५० विकेट लिने कीर्तिमान बनाएका हुन् । श्रीलंकाका अजन्था मेन्डिसले १९ खेलमा सबैभन्दा छिटो ५० विकेट लिएका थिए ।
प्रतिक्रिया