आयोगमा दर्ता सबै दल मोर्चा कसेर आउन एमाले अध्यक्ष ओलीको चुनौती (भिडियो रिपोर्टसहित)
१२ चैत २०७८ काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै दलहरुलाई एमालेविरुद्ध मोर्चा कसेर आउन चुनौती दिनुभएको छ ।
नेपाल मुस्लिम इत्तेहाद संगठनको छैँठौ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आयोगमा दर्ता भएका सबै दलहरुलाई एमालेविरुद्धमा मोर्चा कसेर आउन चुनौती दिनुभएको हो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग एक्लै लड्न सकिदैनँ भन्नेकुरा बुझेपनि सबै मिलेर एमालेसँग लड्न सकिँदैन भन्ने कुरा चाहीँ नबुझेको टिप्पणी गर्नुभयो ।
उहाँले प्रधानमन्त्री देउवाले दर्ता भएका सबै दलहरुलाई साथमै लिएर गएपनि एमालेलाई फरक नपर्ने बताउनुभयो । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको मोर्चा झारपातहरुको मोर्चा भएको टिप्पणी गर्दै हलोमा लाग्ने लुँडीको संज्ञा दिनुभयो ।
उहाँले भन्नुभयो – ‘शेरबहादुर देउवाजीले सही बुझे । आधा सही बुझे । एक्लै एमालेसँग लड्न सकिँदैन भन्ने बुझे । आधा के बाँकी रह्यो भने सबै मिलेर पनि एमालेसँग लड्न सकिँदैन भन्ने चाहीँ बुझेनन् । त्यति चाहीँ बाँकी रह्यो । एक्लै त सकिँदैन, सकिँदैन । सबै मिलेपनि सकिँदैन । पाँच वटाले पुग्दैन भने दर्ता भएका जति सबै दल साथमै लिएर गएपनि हुन्छ । ति सबै दल मोर्चा कसेर एमालेविरुद्ध आए पनि हुन्छ । यिनीहरुको मोर्चा भनेको हलोमा लाग्ने लुँडी जस्तो हो । झारपातहरुको मोर्चा ।’
अध्यक्ष ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफुले सुधार्न नसकेको बताउनुभयो । माओवादीलाई पखालेर बागमती नै मैलिएको उहाँले टिप्पणी गर्नुभयो । युवाहरुले अध्यक्ष प्रचण्डलाई पत्याएर गल्ती गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘ल्याइयो मिलाएर अलि सच्याउन सकिन्छ कि प्रचण्डलाई भनेर, ल्याइयो । मैले पहिले पनि भने ड्रमका ड्रम पानी खर्च भयो । डल्लाका डल्ला साबन खर्च भयो । धुँदाधुँदा । हाम्रो बागमती नै मैलियो माओवादीलाई पखाल्दापखाल्दा, साबन लाउँदालाउँदा । मैले अरुलाई भनेको होइन यो प्रचण्डलाई भनेको है । युवाहरुले त देश बनाउनका लागि, देशमा जनवाद ल्याउनका लागि राम्रा सुखका दिन ल्याउनका लागि जनवादी शासन समादवादी शासन आउँछ भन्नका लागि ति देखाएका सपना । युवाहरुको गल्ती के भयो भने प्रचण्डजस्तालाई पत्याए । अलिअलि त मैले त पत्याएँ । सपार्न सकिन्छ कि जस्तो आँट आयो क्या मलाई । सकिन्छ होला भनेर मैले पनि कोशिस गरिहेरेँ । अन्तिममा त जहाँको त्यहीँ ।’
अध्यक्ष ओलीले मुस्लिम समुदायका अगुवाहरुले मुस्लिम समुदायको पछौटेपन हटाएर जागरण ल्याउन भूमिका खेल्नुपर्ने बताउनुभयो । मुस्लिम समुदायले छोरीलाई पढाउनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया