राजनीति

रुपन्देहीमा यसरी बढ्दै चुनावी चहलपहल (भिडियो रिपोर्टसहित)

२०७८ चैत ९ गते १८:१६
रुपन्देहीमा यसरी बढ्दै चुनावी चहलपहल (भिडियो रिपोर्टसहित)

९ चैत २०७८ बुटवल । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा रुपन्देहीमा राजनीतिक दलहरुको सक्रियता बढ्न थालेको छ । दलहरुले पार्टी प्रवेशदेखि वडावडामा प्रचारप्रसार कार्यालय स्थापना गरेका छन् ।

केन्द्रीयस्तरका नेतालाई बोलाउने र राजनीतिक प्रभाव तयार गर्ने कार्यक्रमले पनि जिल्लामा चुनावी माहोल तातेको प्रष्ट हुन्छ ।

तराईमा गर्मीसँगै चुनावी सरगर्मी पनि बढेको छ । कांग्रेस, एमाले माओवादी, जनता समाजवादी लगायत सबै दलले चुनाव केन्द्रित कार्यक्रम गर्न थालेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले रुपन्देहीको दक्षिणी भेगमा संगठन विस्तार गर्दै पार्टी प्रवेश कार्यक्रमलाई जोड दिइरहेको छ ।

२०७४ को निर्वाचनमा जिल्लाका ७ स्थानीय तहमा एमालेले जित हाँसिल गरेको थियो । मधेशमा कमजोर मानिएको एमालेले यस पटक भने मधेशमा नै संगठन विस्तार गर्दै जनप्रतिनिधिदेखि अन्य पार्टीका नेता कार्यकर्तालाई समेत पार्टीमा प्रवेश गराईरहेको छ ।

सत्तारुढ दल नेपाली कांग्रेसले वडा वडामा प्रचार–प्रसार कार्यालयको स्थापना गर्दै कार्यकर्ता भेटघाटलाई जोड दिईरहेको छ ।

२०७४ को निर्वाचनमा कांग्रेसले रुपन्देहीमा २ वटा स्थानीय तह र केही वडामा मात्र बिजयी भएको थियो । घरघर जाऔं, कांग्रेस जिताऔं भन्ने केन्द्रीय अभियान सहित प्रचार प्रसारमा नेता कार्यकर्ता लागेका छन ।

यस्तै सत्ता घटक नेकपा माओवादी केन्द्रले पनि कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । निर्वाचनमा गठबन्धन भएर जाने कि एक्लै जाने भन्ने निर्णय नआउँदा जिल्लाका नेताहरु केही अलमलमा देखिन्छन् ।

सत्ता घटककै जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तहको मुद्दालाई केन्द्रीत गरेर चुनावी रणनीति बनाउँदैछ । जसपा निर्वाचित भएपछि गर्ने काम र स्थानीय तहको आवश्यकता अनुसारको घोषणा पत्र तयार गरेर जनता समक्ष पुग्ने तयारीमा छ ।

नेकपा एकीकृत समाजवादी सहित अन्य राजनीतिक दलहरुले पनि जिल्लामा चुनावी गतिविधि बढाउँदै छन । स्वतन्त्र उम्मेदवारको चाहाना राख्नेहरु पनि व्यक्ति भेटघाटमा व्यस्त देखिन्छन् । जिल्लामा एक उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका गरि १६ वटा स्थानीय तह छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्