Main News

पाँच वर्षमा ललितपुर महानगरपालिकाले के गर्‍यो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत ८ गते २०:५२
पाँच वर्षमा ललितपुर महानगरपालिकाले के गर्‍यो ? (भिडियो रिपोर्टसहित)

८ चैत २०७८ ललितपुर । पाँच वर्षका लागि निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले पुरै कार्यकाल बिताउने अवसर पाए । पाँच वर्षको अवधिमा आफू नेतृत्वको स्थानीय तहलाई सुविधा सम्पन्न बनाउने अवसर र चुनौति दुवै थियो ।

तर आफ्नै प्रतिवद्धताअनुसार काम गर्न नसक्दा धेरै स्थानीय तहका जनप्रतिनिधिले अमूल्य समय खेर फालेका छन् । ती मध्येका एक हुन् ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन् ।

२ हजार ७४ साल जेठ १० गते ललितपुर महानगरपालिकाको मेयर निर्वाचित हुनुभयो चिरिबाबु महर्जन । मेयर निर्वाचित महर्जनले गर्नुभएको पहिलो बाचा थियो, कुपण्डोलदेखि पुल्चोकसम्म आकाशे पुल बनाउने । त्यो पनि पाँच वर्षभित्रै । मंगलबार कुपण्डोलमा पुग्दा पाँच वर्षपछि पनि अवस्था उस्तै देखियो ।

मेयरले गरेको अर्को बाचा थियो, चक्रपथअन्तर्गत ललितपुर खण्डमा मोनो रेल सञ्चालन गर्ने । चीनको सहयोगमा विस्तार भएको चक्रपथमा मोनोरेल कुदाउने मेयरको सपना पूरा गर्ने प्रयासै भएन । यी दुई मुख्य परियोजना निर्माण गर्ने बाचा गर्नु भएका मेयर महर्जनले अरु धेरै सार्वजनिक प्रतिवद्धता जनाउनु भएको थियो । उहाँले प्रतिवद्धता व्यक्त गरेका केही उदाहरण हेरौंः

–कुपण्डोलदेखि पुल्चोकसम्म आकाशे पुल
–चक्रपथ, लगनखेललगायतका स्थानमा आकाशे पुल निर्माण
–राजकुलोमार्फत विभिन्न पोखरीमा पानी भरिने
–पर्यटक चक्रपथ तथा सूचना केन्द्र निर्माण
–महानगरका मुख्य तरकारी बजारमा चिस्यान केन्द्र निर्माण
–प्रत्येक वडामा पुस्तकालय र शौचालय निर्माण
–प्रत्येक वडामा योग तथा प्राकृतिक चिकित्सा केन्द्र
–सबै विद्यालयमा स्थायी रुपमा नर्सिङ सेवा

यी केही उदाहरण मात्रै हुन् , ललितपुर महानगरपालिकाका मेयर महर्जनले मतदातासमक्ष जनाएका प्रतिवद्धता । उहाँले निर्वाचनमा जनाएका प्रतिवद्धताको सूचि लामै छ, जुन प्रतिवद्धता पाँच वर्षभित्रै पूरा गर्ने बाचा गर्नु भएको थियो । तर पूरा भएनन् । मेयर महर्जनले गरेको चुनावी बाचा पूरा नगरेको भन्दै कतिपय स्थानीय असन्तुष्ट छन् ।

नगरको सरसफाइ, साइकल लेन निर्माण, केही पुराना सम्पदाहरुको जीर्णोद्धारलगायतका काम गरी मेयर महर्जनले केही सकारात्मक पहल त अवश्य गर्नु भएको थियो । तर साइकल लेन पनि आज दुरुस्त छैन् ।

समग्रमा ललितपुरका मेयर महर्जनले चुनावमा गरेका धेरै बाचामध्ये थोरै मात्रै पूरा गर्नु भएको पाइयो । आगामी निर्वाचनमा उम्मेदवारी दिने जनप्रतिनिधिले धेरै बाचा गरेर काम नगर्नु भन्दा सक्ने जति बाचा गर्ने र ती बाचालाई पाँच वर्षभित्रै व्यवहारमा उतार्नु उपयुक्त हुने थियो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *