समाज

सिद्धेश्वरमा सामुदायिक अस्पतालको शिलान्यास (भिडियो रिपोर्टसहित)

२०७८ चैत ८ गते १७:४०
सिद्धेश्वरमा सामुदायिक अस्पतालको शिलान्यास (भिडियो रिपोर्टसहित)

८ चैत २०७८ भोजपुर । भोजपुर नगरपालिका वडा नम्बर ४ सिद्धेश्वरमा १५ वेडको सामुदायिक अस्पताल बन्ने भएको छ।

दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा उपलव्ध गराउने उद्देश्यले अस्पताल शिलान्यास गरियो । आफ्नै गाउँघरमा अस्पताल बन्ने भएपछि स्थानीय नागरिक हर्षित भएका छन् ।

सामान्य उपचारका लागि पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो भोजपुर नगरपालिकाका नागरिकलाई । आर्थिक रुपमा सक्षम भएका नागरिक हेलिकोप्टर चार्टर्ड गरेर उपचार गराउन जाने गरे पनि विपन्न र मध्यम वर्गीय परिवारलाई उपचारका लागि निकै समस्या हुने गरेको थियो । उपचार नपाएर धेरैको अकालमै मृत्युसमेत हुने गरेको थियो । तर, घर छेउमै अस्पताल निर्माण हुने भएपछि स्थानीय खुसी भएका छन् ।

आफ्नै गाउँमा अस्पताल निर्माण हुने भएपछि स्थानीय नेत्रप्रसाद पाण्डेले निःशुल्क ३० रोपनी जग्गा उपलब्ध गराउनुभयो । भोजपुर नगरपालिका साथै जिल्लाभरका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुग्ने भएकोले जग्गा दान गरेको पाण्डेले बताउनुभयो ।

अस्पताललाई समयमा नै सम्पन्न गर्न निरन्तर लागिरहने भोजपुर नगरपालिकाले बताएको छ । स्वास्थ्य मन्त्रालयले पनि ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्यको पहुँचमा जोड्न खुल्ने अस्पतालको लागि गर्नुपर्ने सहयोगमा कुनै कसर बाँकी नराख्ने आश्वासन दिएको छ ।

एकमात्र सरकारी अस्पताल रहेको भोजपुरमा सामुदायिक अस्पताल निर्माणपछि स्थानीयले स्वास्थ्य सेवा लिन सहज हुनेछ । सामुदायिक अस्पतालको काम चाँडै सम्पन्न होस् भन्ने स्थानीयको चाहना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *