मोरङको लेटाङ घटना– पूरै गाउँमा सन्नाटा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत ७ गते २०:४१
मोरङको लेटाङ घटना– पूरै गाउँमा सन्नाटा (भिडियो रिपोर्टसहित)

७ चैत २०७८ विराटनगर । एक महिला प्रहरीको ज्यानै जाने गरी भएको घटनापछि मोरङको लेटाङमा सन्नाटा छाएको छ । एक शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको घटनाबाट शुरु भएको तनावका कारण एक प्रहरीको मृत्यु नै भएपछि यो क्षेत्रमा सन्नाटा देखिएको हो ।

शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले १४ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गर्न खोजेको घटनाले आइतबार बेलुका मोरङको लेटाङक्षेत्र तनावग्रस्त बन्यो । स्थानीयहरु घरेलु हतियारसहित विद्यालयमा पुगेर शिक्षकमाथि आक्रमण गर्न खोजेपछि विद्यालयले प्रहरी बोलाएर आरोपित शिक्षकलाई प्रहरीको जिम्मा लगाउने तयारी गर्‍यो ।

दुर्व्यवहार आरोपी शिक्षक पक्राउ गर्न गएको प्रहरीमाथि नै स्थानीयले आक्रमण गरे । विद्यालय घेराउ गरेर बसको आक्रोशित भिडलाई छलेर आरोपीलाई लैजान लागेको प्रहरीमाथि सांघातिक आक्रमणबाट एक महिला प्रहरीको मृत्यु भयो ।

यौन दुर्व्यहार गर्ने शिक्षकमाथि पोख्न खोजेको आक्रोशले सुरक्षा दिन आएका प्रहरी नै मारिएपछि स्थानीयवासी अहिले त्रसित र बिचलित देखिन्छन् ।

शिक्षक पौडेलमाथि गत शुक्रबार १४ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि विद्यालयले स्थानीय जनप्रतिनिधिसँग छलफल गरेर प्रहरीको जिम्मा लगाउने तयारी गरेको थियो । तर भिडले शिक्षकलाई जोगाउन खोजेको बुझेर प्रहरीमाथि नै सांघातिक आंक्रमण गर्‍यो । विद्यलायमा तोडफोड गर्‍यो ।

घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु हुनुका साथै २९ प्रहरी र ७ आन्दोलनकारी घाइते भएका छन् । घटनामा मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जीसीसहित समेत घाइते हुनु भएको छ । आक्रोशित भिडले प्रहरीमाथि नै आक्रमण गरेपछि जिल्ला प्रशासन कार्यालयले अवस्था सामान्य नहोउन्जेलसम्मका लागि कफ्र्यु लागू गरेको छ ।

उत्तरी मोरङमा एकपछि अर्को बलात्कार र यौन दुर्व्यवहारका घटना भइरहेका छन् । केही दिनअघि मात्रै डेढ वर्षे बालिकाको बलात्कारले ज्यान लिएको घटना नसेलाउँदै छात्रामाथि शिक्षकबाटै दुर्व्यवहार भएको घटनाले स्थानीयवासी आक्रोशित बनेका छन् । तर आक्रोशित भिडले प्रहरी जवानकै ज्यान लिएपछि गाउँमा सन्नाटा छाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *