एमालेले वैशाख ९ गते स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने (भिडियो रिपोर्टसहित)
७ चैत २०७८ काठमाडौं । नेकपा (एमाले)ले आगामी वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ ।
आजदेखि काठमाडौंमा शुरु भएको पार्टी पोलिटब्यूरो बैठकले वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणा पत्र र सबै स्थानीय तहहरुले आ–आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
एमालेले स्थानीय तहका निर्वाचनमा उम्मेदवार तय गर्ने विधि र मापदण्ड पनि बनाएको छ । स्थानीय तहको वडाध्यक्ष र वडा सदस्यहरुको वडा कमिटीले सिफारिस गर्ने र त्यसको निर्णय पालिका कमिटीहरुले गर्नेछ ।
त्यसैगरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तय गर्न गाउँ कमिटीले सुझाव दिने र त्यसैको आधारमा सम्बन्धित जिल्ला कमिटीले सिफारिस गरेपछि प्रदेश कमिटीले निर्णय गर्नेछ । प्रचार विभाग प्रमुख गुरुङले नगरपालिकाको मेयर, उपमेयरको हकमा पनि प्रदेश कमिटीले नै निर्णय गर्ने बताउनुभयो ।
उपमहानगरपालिका र महानगरपालिकाको मेयर, उपमेयर भने प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्नेछ । विगतको कामको मूल्यांकन, उनीहरुको कार्यक्षमता, विकास र सुशासनप्रतिको उनीहरुको दृष्टिकोण उम्मेदवार चयनका मुख्य मापदण्ड भएको एमालेले जनाएको छ ।
त्यसैगरी लोकप्रियता, चुनावमा जितको सुनिश्चितता पनि अर्को मापदण्ड हुने प्रचार विभाग प्रमुख गुरुङले बताउनु भयो ।
पार्टीमा प्रवेश गर्नेहरुको व्यवस्थापनका लागि आवश्यक विभागहरु गठन गर्ने अनुमति आवश्यकता अनुसार प्रदेश र जिल्ला कमिटीहरुलाई दिने निर्णय पनि बैठकले गरेको छ ।
प्रतिक्रिया