Main News

चुनाव नजिँकिएसँगै आक्रामक बन्दै एमाले (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २८ गते २१:१३
चुनाव नजिँकिएसँगै आक्रामक बन्दै एमाले (भिडियो रिपोर्टसहित)

२८ फागुन २०७८ काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय निर्वाचन नजिकिएसँगै आक्रामक देखिएको छ । शीर्ष नेताहरुले देश दौडाहा बढाएका छन् भने सत्ता गठबन्धनविरुद्ध पनि कडा टिप्पणी गरिररहेका छन् ।

निर्वाचनको मिति नजिकिँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सक्रियता बढाएको छ । अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,महासचिव शंकर पोख्रेललगायतका नेता पनि उत्तिकै सक्रिय छन् ।

शनिबार अलगअलग स्थानमा भएका कार्यक्रममा एमाले नेताहरुले सत्तागठबन्धन विरुद्ध कडा टिप्पणी गरे । अहिलेको सरकार अदालतको परमादेशबाट बनेकाले उखेलेर फाल्न गाह्रो नभएको दाबी एमाले नेताहरुले गरे ।

उसो त एमाले नेताहरुले ओलीले गरेको संसद विघठनको औचित्य पुष्टि गर्ने प्रयास गरिरहेका छन् भने सर्वोच्च अदालतको परमादेशको आलोचना गर्दै आएका छन् । खासगरी अध्यक्ष ओलीले गठबन्धनभित्र पनि माओवादी केन्द्र र एकीकृत समाजवादीलाई मुख्य निशाना बनाइरहनु भएको छ ।

एमाले नेताहरुले अहिले राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित रहेको र एउटा ध्रुवको नेतृत्व आफूहरुले गरिरहेको बताउन थालेका छन् । एमालेले जनताको साथ लिएर जनताकै हकहितमा काम गरिरहेको तर सत्तारुढ दलले आफ्नो स्वार्थपूर्तिको मात्रै काम गरिरहेको भास्य बनाउन एमाले नेताहरु कडा मेहनतका साथ लागिपरेका छन् ।

आउँदो निर्वाचनपछि सहजै आफ्नो पार्टीको सरकार बन्ने दाबी एमाले नेताहरुको छ। निर्वाचनमा जाँदा सबैजसो दलले आफूलाई बलियो देखाउन प्रयास गर्नु राजनीतिमा अस्वभाविक होइन । तर, एमालेले भनेजस्तो अहिलेको सत्तागठबन्धन मूलाजस्तै उखेलेर फाल्ने सामर्थ्य एमालेले राख्छ,राख्दैन ? त्यो थाहा पाउन भने आउँदो निर्वाचन नै पर्खिनुपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *