Main News

जनप्रतिनिधि नै लुटेरा परेपछि…मिलेमतोमा जग्गा गायब (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २८ गते २१:००
जनप्रतिनिधि नै लुटेरा परेपछि…मिलेमतोमा जग्गा गायब (भिडियो रिपोर्टसहित)

२८ फागुन २०७८ संखुवासभा । जनताको गुनासो घरघरमा नै समाधान गर्ने भनि स्थानीय तहको परिकल्पना गरिएको हो । तर, तिनै स्थानीय तहमा जनताबाट चुनिएका जनप्रतिनिधिले नै जनतालाई लुट्न ढाँट्न थालेपछि जनताले कसलाई विश्वास गर्ने ?

यस्तै अवस्था देखिएको छ, संखुवासभामा । जनप्रतिनिधि र मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा ७४ वर्षीय एक वृद्धाको जग्गा कीर्ते गरी आफन्तको नाममा नामसारी गरिएको छ ।

उहाँ संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ की ७४ वर्षीया विममाया तमाङ । वृद्धभत्ताका लागि कार्ड बनाइदिने भन्दै वडाध्यक्ष किङसाङ भोटेले जिल्ला प्रशासन कार्यालयबाट उहाँको नागरिकताको प्रतिलिपि बनाए । त्यति मात्र हैन, कीर्ते कागज गराएर २७ रोपनी जग्गा आफ्नो र आफन्तका नाममा नामसारी गरियो ।

आफ्नो भत्ताको कार्ड बनाएको भनेर विममायाले आफ्ना भाइहरुलाई देखाएपछि थाहा भयो जग्गा त अरुको नाममा नामसारी भैसकेको रहेछ । वडाध्यक्षले केही समय अघिदेखि नै जग्गा हडप्ने नियतवस विममायाका श्रीमानको मृत्यु दर्ता र भत्ताको सिफारिस पत्र आफैसँग राखेका थिए ।

विममायाको नाममा रहेको कित्ता नम्बर २७५ र २८० को २७ रोपनी जग्गा वडाध्यक्ष भोटेले आफन्तको नाममा नामसारी गराए । कित्ता नम्बर २८० को जग्गा कल्पना भोटे र सुरेन्द्र तमाङ र श्रीमती ङिमालाजुङ भोटेको नाममा संयुक्त रुपमा पास गरेका थिए ।

त्यस्तै कित्ता नम्बर २७५ को जग्गा मालपोत कार्यालयका नायव सुब्बा महेन्द्र पराजुलीले आफ्नै घरमा कोठाभाडामा बस्दै आएका पासाङ शेर्पाको नाममा रजिस्टेशन पास गरे । पासाङ शेर्पाको नाममा पास भएको जग्गा फागुन १६ गते नायवसुब्बा पराजुलीले पुनः आफ्नै श्रीमती कविता पराजुलीको नाममा नामसारी गरेका थिए । स्व. दलबहादुर तामाङको नाममा रहेको जग्गा पहिला विममायाको नाममा र त्यसपछि आफ्नो नाममा नामसारी गरेका हुन् ।

विममायाको काम सकिएपछि सुरेन्द्रले फागुन २ गते राति १ बजेतिर विममायालाई घरमा पुर्याई वृद्धाभत्ताबापतको रकम भनी २० हजार रुपैंया दिई त्यहीरात खाँदबारी फर्किए ।

जग्गा नामसारी गर्दा कल्पना भोटेको हकमा लेखापढी व्यवसायी अनिस गुरुङको नाममा वारेस पास भएको थियो । सम्पूर्ण कागजात लेखापढी गरे बापत गुरुङले अध्यक्ष भोटेमार्फत ९ हजार रुपैंया पारिश्रमिक स्वरुप लिएका थिए ।

प्रहरीले वडाध्यक्ष किङसाङ भोटेसहित ७ जनालाई पक्राउ गरेको छ । वडाध्यक्ष भोटेसहित, ३० वर्षीय सुरेन्द्र तामाङ, २१ वर्षीया कल्पना भोटे, २० वर्षीया ङिमा लाजुङ भोटेलाई प्रहरीले पक्राउ गरेको हो । त्यसैगरी मालपोत कार्यालय खाँदबारीका नायव सुब्बा ५१ वर्षीय महेन्द्रकुमार पराजुली, मकालु गाउँपालिका वडा नम्बर ४ घर भई लेखापढी व्यवसाय गर्ने ३५ वर्षीय अनिस गुरुङ र चैनपुर नगरपालिकाका ३५ वर्षीय पासाङ शेर्पा रहेका छन् ।

अपर अरुण जलविद्युत परियोजनाबाट ठूलो रकम मुआब्जा लिने प्रयोजनका लागि जग्गा ठगी गरेको खुलेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *