Main News

एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरुलाई प्रधानमन्त्रीको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २७ गते १४:२९
एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरुलाई प्रधानमन्त्रीको आग्रह (भिडियो रिपोर्टसहित)

२७ फागुन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।

आज काठमाडौंमा भएको नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ साधारण सभा उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाको अन्तर्राष्ट्रियस्तरमा टेण्डर हुने भएकाले नेपालले पनि भाग लिनसक्ने बताउनुभयो ।

उहाँले नेपालका निर्माण व्यवसायीलाई एमसीसीको अन्तर्राष्ट्रिय टेण्डरमा भाग लिन हिम्मत गर्न आग्रह गर्नुभयो । अमेरिकी कानूनले एमसीसीलाई अन्तर्राष्ट्रियस्तरमा टेण्डर गर्नुपर्ने अवस्था रहेकाले यसमा जुनसुकै देशले प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो । नेपाल प्रतिस्पर्धामा भाग लिएर सफल भए नेपालीहरु खुशी हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, ग्लोबल टेण्डर हुन्छ । नेपालकाले पनि हिम्मत गरे हुन्छ । यो एमसीसीको बिडिङमा सफल हुनुस् । सबभन्दा पहिले हामी खुशी हुनेछौँ । अन्तर्राष्ट्रिय विडिङ हुने हुनाले अमेरिकालाई बाध्यता छ अमेरिकन कानूनले अन्तर्राष्ट्रिय विडिङ गराउनुपर्ने हुनाले जुनसुकै मुलुकका पनि यसमा आउन सक्छन् । चीनका होस् । भारतको होउन् । नेपालकै हुन सक्छन् ।’

प्रधानमन्त्री देउवाले नेपालको निर्माण उद्योगलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने बताउनु भयो । निर्माण व्यवसायको व्यवस्थित विकासका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा देखिएका समस्याहरुको नीतिगत, कानूनी र प्रक्रियागत रुपमा सहजीकरण गर्न सरकार सकारात्मक रहेको बताउनुभयो । निर्माण व्यवसायलाई अझै व्यवसायिक र प्रतिस्पर्धी बनाउनु आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो – ‘निर्माण व्यवसायको व्यवस्थित विकासका लागि सरकार प्रतिवद्ध छ । मुलुकमा कृषि पछि सबैभन्दा बढी रोजगारीको अवसर सिर्जना गर्ने निर्माण क्षेत्रको स्वच्छ र प्रतिस्पर्धी विकासबाट मुलुकको दु्रत आर्थिक विकास सम्भव हुने कुरालाई मध्यनजर गरी यस क्षेत्रमा देखिएका समस्याहरुको नीतिगत, कानूनी र प्रक्रियागत रुपमा सहजीकरण गर्न सरकार सकारात्मक छ । भौतिक पूर्वाधारको विकास बिना मुलुकको समग्र विकास सम्भव छैन ।’

उहाँले निर्माण क्षेत्रमा गरिने खर्चलाई समय सापेक्ष वृद्धि गर्दै लानुपर्ने आवश्यकता रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले निर्माण व्यवसायीहरुको क्षमता अभिवृद्धि, तथा निर्माण सामग्रीहरुको आधुनिकीकरण र यान्त्रिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘पूर्वाधार लगायतका निर्माण क्षेत्रमा गरिने खर्चलाई दीर्घकालीन रुपमा अनुमोदन गराउनका लागि, अनुमानयोग्य बनाउनका लागि साथै बजेटलाई पनि समय सापेक्ष वृद्धि गर्दै लानुपर्ने आवश्यकता छ । निर्माण व्यवसायीहरुको मौद्रिक क्षमताले मुलुकको विकास योजना मात्रै सबै सपना पूरा गर्न सम्भव नदेखिएकाले बदलिदो समयअनुसार निर्माण व्यवसायीको क्षमता अभिवृद्धि, आधुनिकीकरण, यान्त्रिकीकरणका लागि जोड दिनुपर्दछ । यो व्यवसायमा पूर्ण प्रतिस्पर्धाको स्थिति सिर्जना गर्नु आवश्यक छ ।’

उहाँले निर्माण व्यवसायलाई सहज बनाउनका लागि खरिद नियमावलीको ११ औँ संशोधन गरिएको स्पष्ट पार्नुभयो । विकास निर्माणको काम समयमा सम्पन्न नहुँदा निर्माण व्यवसायी माथि प्रश्न उठ्ने गरेको भन्दै उहाँले काम ढिलो हुनाका कारण र समस्या समाधानका उपायको सम्बन्धमा सरकार व्यवसायीहरुसँग छलफल गर्न तयार रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *