जनयुद्धमा मारिएका ७३ माओवादी नेताका संझनामा शहीद स्तम्भ पार्क निर्माण

हिमालय टिभी
२०७८ फागुन २४ गते १६:४४
जनयुद्धमा मारिएका ७३ माओवादी नेताका संझनामा शहीद स्तम्भ पार्क निर्माण

२४ फागुन २०७८ खोटाङ । साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङमा शहीद स्तम्भ पार्क (उद्यान) निर्माण गरिएको छ ।

दसवर्षे माओवादी जनयुद्धको विभिन्न समय तथा स्थानमा राज्यपक्षबाट मारिएका खोटाङका ७३ शहीदको संझनामा पर्यटकीयस्थल तावाभञ्ज्याङमा शहीद स्तम्भ पार्क निर्माण गरिएको हो । पार्कमा खोटाङका प्रथम शहीद ठूलकुमार श्रेष्ठदेखि कर्मचारी आन्दोलनमा नेपाल प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका शहीद मनोज जोशीको नामसमेत समावेश गरिएको छ ।

नेकपा माओवादीको जिल्ला समिति सदस्य श्रेष्ठलाई तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार गरी विसं २०५५ पुस २७ गते उदयपुरको तावाश्रीमा लगेर गोली हानी हत्या गरेको थियो ।

शहीद जोशीलाई विसं २०४८ साउन १५ गते नेपाल प्रहरीले गोली हानेर हत्या गरेको थियो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारसँग भएको सम्झौता पूरा नभएको विरोधमा कर्मचारीले निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी जोशीलाई दिक्तेलस्थित हेलिप्याडमा प्रहरीले हानेको गोली लागेर उहाँको मृत्यु भएको थियो ।

देश र जनताका लागि आफ्नो ज्यान आहुति दिने शहीदहरुको सम्मान र पर्यटकीयस्थल तावाभञ्ज्याङको प्रवद्र्धन गर्न पार्क निर्माण गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताउनुभयो । “तावाभञ्ज्याङ प्राकृतिकरुपमै पर्यटकीयस्तल हो । यस ठाउँकोे प्रवद्र्धन गर्न विभिन्न संरचना निर्माण भइरहेका छन्,” उहाँले भन्नुभयो, “प्रदेश सरकारको क्रमागत योजनाअन्तर्गत यस वर्ष रु १५ लाखको लगानीमा शहीद स्तम्भ, पार्क र प्रवेशद्वार निर्माण गरिएको छ ।”दसवर्षे जनयुद्धको समयमा माओवादीको सुरक्षित सेल्टर मानिने तावाभञ्ज्याङ नजिकै पाँचधारेमा विसं २०६२ असार ८ गते माओवादी र नेपाली सेनाबीच दोहोरो भिडन्त हुँदा माओवादीका कम्पनी कमान्डर सर्वधान राई ‘अग्नि’सहित १० जनाले ज्यान गुमाएका थिए । उक्त घटनामा नेपाली सेनाका १३ जवानसमेत मारिएका थिए ।

तावाभञ्ज्याङमा निर्माण गरिएको शहीद पार्कलाई बाह्रै महिना हराभरा बनाएर पर्यटकलाई आकर्षित गर्न पार्क वरिपरि व्यावसायिक रुपमा चिया बगानसमेत बनाइएको छ । शहीद पार्क निर्माणस्थलको दायाँबायाँ करीब १० रोपनी जग्गामा गत वर्ष गाउँपालिकाको लगानीमा आठ हजार चियाका बिरुवा लगाइएको गाउँपालिकाका कृषि शाखाप्रमुख गणेश राईले बताउनुभयो । तावाभञ्ज्याङ टेम्केडाँडा जोड्ने मुन्धुम ट्रेल ९पदमार्ग०को प्रवेशद्वार हो । खोटाङ र भोजपुरको सिमानामा पर्ने तावाभञ्ज्याङको पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाको ३०, प्रदेश सरकारको ३५ र स्विस सरकारको ३५ प्रतिशत अनुदान सहयोगमा पदमार्ग निर्माण गरिएको थियो ।

त्रिपक्षीय सम्झौताका आधारमा निर्माण गरिएको मुन्धुम ट्रेल नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्य स्थलमध्ये पहिलो प्राथमिकतामा पर्छ । गत वर्ष उक्त पदमार्गको दायाँबायाँ चौडा गर्ने, सुक्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्नेलगायत पूर्वाधार निर्माण गरिएको छ ।

समुन्द्री सतहदेखि करिब दुई हजार २०० मिटरको उचाइमा रहेको तावाभञ्ज्याङमा कृत्रिम ताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० समेत तयार गरिएको छ । प्रदेश नं १ कै नमूना तथा ठूलो कृत्रिम ताल निर्माण गर्ने तयारीका साथ उक्त गाउँपालिकाले डिपिआर तयार पारेको हो । करिब रु ५६ करोडको लागतमा निर्माण गरिने कृत्रिम तालका लागि १ नं प्रदेश सरकार र गाउँपालिकाको लगानी हुने गाउँपालिकाका प्रमुख गाउँपालिका प्रमुख खड्काले बताउनुभयो । तावाभञ्ज्याङमा निर्माण गरिने कृत्रिम ताल साढे ६०० मिटर लम्बाइ र ५०० मिटर चौडाइको हुने डिपिआरमा उल्लेख छ ।

तीन वर्षभित्र पूरा गर्ने योजनाका साथ निर्माण गरिने कृत्रिम तालको काम आगामी आर्थिक वर्ष लाग्ने बित्तिकै सुरु गरिने गाउँपालिकाले जनाएको छ । ताल निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकलाई करिब तीन घण्टासम्म डुङ्गामा सयर, पौडी र दृश्यावलोकन गराउनाका साथै तालभित्र माछा तथा हाँस पालन जस्ता काम पनि अघि बढाइने जनाइएकोे छ ।

तावाभञ्ज्याङ नजिकै पर्ने मखमलेमा रेन्बो ट्राउट माछा, भुरा तथा रेन्बो ट्राउटलाई दिइने दाना उत्पादन गर्ने स्रोेत केन्द्रसमेत सञ्चालन गरिएको छ । ‘तावाहाङ रेन्बो ट्राउट कृषक समूह’ले सुरु गरेको रेन्बो ट्राउट फर्ममा अहिले बिक्री गर्न लायक करिब आठ क्विन्टल रेन्बो ट्राउट माछा उत्पादन भएका छन् । तावाभञ्ज्याङको चौतर्फी प्रवद्र्धनको काम सुरु भएपछि स्थानीयवासीसमेत हर्षित छन् । त्यहाँ पछिल्लो समय घर निर्माण गर्ने तथा होटल खोल्ने क्रम सुरु भएको छ ।

माघे सङ्क्रान्ति, नयाँ वर्ष, वैशाखे पूर्णिमालगायतमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने तावाभञ्ज्याङमा होमस्टे ९घरबास०समेत निर्माण गर्ने तयारी गरिएको छ । होमस्टे निर्माण तथा सञ्चालनका लागि यस वर्ष बजेटसमेत विनियोजन गरिएको गाउँपालिका प्रमुख खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *