अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता

हिमालय टिभी
२०७८ फागुन २१ गते ६:३२
अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता

२१ फागुन २०७८ बेनी । म्याग्दी सदरमुकाम बेनीमा अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता गर्न थालिएको छ ।

बेनी नगरपालिका–८ स्थित पुरानो कालीपुल बजारका केही ब्यक्तिले अतिक्रमण गरेर भोगचलन गर्दै आएका सार्वजनिक जग्गा फिर्ता गराउन ताकेता गरिएको हो । कालीगण्डकी नदी किनारमा नगरपालिकाले उद्यान निर्माण गर्न लागेको जग्गा नै अतिक्रमण भएको पाइएपछि शुक्रवार वडा कार्यालयले नापी कार्यालयका प्राविधिक टोली खटाएर त्यहाँका सार्वजनिक जग्गाको अनुगमन गरेको थियो ।

उक्त जग्गा नापी कार्यालयका प्रविधिकको सहयोगमा सार्वजनिक छुट्याइएको नगरपालिका प्रवक्ता एवम् वडानम्वर ८ का अध्यक्ष रामकृष्ण बराईलीले जानकारी दिनुभयो । साधँसिमनामा रहेका छ जनाले सार्वजनिक जग्गा ओगटेको भेटिएको उहाँको भनाइ थियो ।

सार्वजनिक जग्गा अतिक्रमण गरेका घरधनीलाई पत्र काटेर र जानकारी गराएर फिर्ता गर्न ताकेता गरिएको वडा कार्यालयले जनाएको छ । नदीको किनारमा रहेको सार्वजनिक जग्गामा बाल उधान र बगैँचासँगै कालीपुल बसर्पाकमा पुग्ने पैदलर्माग बनाउने योजना रहेको वडा अध्यक्ष बराईलीले जानकारी दिनुभयो ।

‘‘यस आर्थिक बर्षमा नगरपालिकाबाट विनियोजन गरिएको रु ४ लाखबाट सार्वजनिक जग्गा घेराबार गर्नेछाँै, जग्गा संरक्षणसँगै थप बजेटको व्यवस्था गरेर बाल उद्यान निर्माण गर्ने योजना छ,’’ उहाँले भन्नुभयो ।

सदरमुकाम बेनीमा सार्वजनिक जग्गा अतिक्रमण बढ्दो छ । अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गराउन नगरपालिकाले चासो देखाएपनि राजनैतिक संरक्षणको आडमा अतिक्रमण गरेका व्यक्तिहरुले अटेरी गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *