राजनीति

माओवादी, एमसीसी र सेफल्याण्डिङ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २० गते २०:३४
माओवादी, एमसीसी र सेफल्याण्डिङ (भिडियो रिपोर्टसहित)

२० फागुन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रमा एमसीसीको पक्ष र विपक्ष धारले एमसीसी पारितपछिसम्म पनि विवाद कायम राखेको छ । अध्यक्ष प्रचण्डको बलमा एमसीसी पारित भइसकेपछि अब विरोधी खेमाका नेताहरु के गर्लान् भन्ने आशंका कार्यकर्तामा छ ।

यद्यपि व्याख्यात्मक टिप्पणीसहित केन्द्रीय नेतृत्व एमसीसी पारितको पक्षमा उभिएपछि विरोधी धारका नेताहरु भने अब सेफल्याण्डिङको खोजीमा छन् । कसरी हुन सक्छ सेफल्याण्डिङ ?

गत पुसमा भएको नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी संशोधन नगरी पारित नगर्ने निर्णय गरेको थियो । त्यसअघि कात्तिकमा बसेको स्थायी कमिटी बैठकले पनि यथास्थितिमा एमसीसी पारित नगर्ने निर्णय गरेको थियो । यो बैठकमा त एमसीसी पारित नगर्ने प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै राख्नु भएको थियो ।

महाधिवेशनमा आईपुग्दा प्रचण्डले एमसीसी पारितको म्याद थप गर्न माग गर्दै अमेरिकालाई पत्राचार गरेको चर्चाले स्थान पाएपछि केन्द्रीय कमिटी बैठक एमसीसी संशोधन नगरी पारित नगर्ने निर्णयमा पुग्न बाध्य भयो । माओवादीको आठौँ महाधिवेशनपछि बसेको पूर्व स्थायी कमिटी सदस्य बैठकले पनि एमसीसी संशोधन नगरी पारित नगर्ने निर्णय गर्यो ।

संसदीय दलको बैठकले त बरु सरकार छोड्ने तर एमसीसी पारित गर्न नदिने निर्णय गर्यो । मुख्यगरी माओवादी केन्द्रभित्र नेता नारायाणकाजी श्रेष्ठ र उहाँ निकट नेताहरु एमसीसी कुनै पनि हालतमा पारित गर्न नहुने पक्षमा पहिलेदेखि नै दरो अडानमा उभिरहेका थिए ।

प्रचण्डकै विश्वास पात्र कृष्णबहादुर महरासमेत एमसीसीको विपक्षमा रहेका बेला प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त रुपमा अमेरिकालाई पत्राचार गरेर एमसीसीलाई केही पछाडि धकेल्न आग्रह गर्नुभएको थियो ।

प्रचण्डको चाहना एमसीसी पारित नगर्ने भन्दा पनि केही समय रोक्ने, चुनाव सम्पन्न गरेर अरु कसैको सरकार बने उनीहरुलाई पास गर्न दिने र माओवादीका तर्फबाट विपक्षमा मत दिने थियो । तर प्रकारान्तरले माओवादीसमेत सहभागी भएको गठबन्धन सरकार एमसीसीमा निर्णयमा पुग्नुपर्ने अवस्थामा आयो ।

म्याद थपका लागि गरिएको आग्रह अमेरिकाले स्वीकार गरे पनि उनीहरुले नै दिएको ४–५ महिनाको म्यादमा अमेरिकाले फेरि घाँटी थिच्न थालेपछि वार कि पारको अवस्था आइलाग्यो ।

पार्टीभित्रै पनि एमसीसी किन अहितकारी वा हितकारी भनेर आफ्नै सर्कललाई कन्भिन्स गर्न नसकेका नेताहरु अन्ततः एमसीसी पारितको बाध्यात्मक अवस्थामा पुगे । एमसीसीको विपक्षमै रहे पनि गठबन्धन चाँहि टिकाउनै पर्ने बाध्यताले आफ्नो निर्णय विरुद्ध उत्रिनुपर्ने अवस्था माओवादीलाई आइलाग्यो ।

अध्यक्ष प्रचण्डले नै यथास्थितिमा एमसीसी पारित नगर्ने आश्वासन दिँदै गर्दा पार्टीभित्रको एउटा खेमा एमसीसीविरुद्ध कट्टर बन्दै गएको थियो । पर्दाभित्र र पर्दाबाहिरसमेत नेतृत्व द्वेध चरित्रमा हुँदा कार्यकर्ता पंक्ति एमसीसीको विपक्षमा बढी अडिग देखिँदै गयो । तर हठात् एमसीसी पारित हुने अवस्था आउँदा भने विरोधी पंक्तिले अपमानित महसुस गरेको हो । जसका कारण यो पंक्तिलाई पार्टीभित्र सेफ ल्याण्डिङको समस्या देखिएको छ ।

एमसीसी पारितपछिको पहिलो केन्द्रीय बैठकअघि नै तीव्ररुपमा बढेको असन्तुष्टिले बैठकसमेत प्रभावित बनेको छ भने पार्टीको भविस्य के भन्ने अन्योलता कार्यकर्ता पंक्तिमा देखिएको छ ।

तर एमसीसी पारित हुँदा यसअघि प्रचार गरिएजस्तो राष्ट्रघात नै हुने वा अमेरिकी प्रभाव बढ्ने कुरालाई केबल हत्कण्डामात्र बुझेको केन्द्रीय नेतृत्वले फरक मत राख्नेहरुको प्रवाह नगर्दा नेताहरुमा आत्मसम्मानको मुद्दा अलि बढी नै देखिएको छ । तर यतिबेला एमसीसी विरोधी नेताहरुमा लागेको आत्मसम्मानको घाउ प्रचण्डको आत्मआलोचनाको मल्हमले निको पार्न सक्ने कतिपयको विश्वास छ ।

एमसीसी पारितसँगै खुलमखुला बाझाबाझ गरेका नेताहरु केन्द्रीय कमिटीभित्र मन माझामाझ गरेपछि यसको अवतरण सहज हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्