Main News

सत्ता गठबन्धनको बैठक आज बस्दै, एमसीसीमा सहमति जुटाउने तयारी

हिमालय टिभी
२०७८ फागुन १५ गते ८:५१
सत्ता गठबन्धनको बैठक आज बस्दै, एमसीसीमा सहमति जुटाउने तयारी

१५ फागुन २०७८ काठमाडौं । सरकारमा रहेका ५ राजनीतिक दलहरूको बैठक आज बस्दैछ ।

बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना, एमसीसी अघि बढाउने बारेमा साझा सहमति गर्ने तयारी दलहरूको छ ।

एमसीसी परियोजनाको बारेमा पुरक प्रस्ताव अघि सारेर भए पनि यसलाई पारित गर्न नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी तयार भएपछि सत्ता गठबन्धन दलको बैठकमा सहमति गर्न लागिएको बालुवाटार स्रोतले जनाएको छ ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमसीसी अघि नबढे गठबन्धन तोडेर भए पनि नेकपा एमालेसँग सहकार्य गर्ने चेतावनी दिएपछि माओवादी केन्द्र र नेकपा एस अप्ठ्यारोमा परेका छन् ।

यी दुवै दलले एमसीसीको विरोध गर्दै आफ्ना नेताकार्यकर्ता सडकमा उतारेका छन् । एमालेसँग भएका निरन्तरका छलफलमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट सहयोगको अपेक्षा भए अहिलेको गठबन्धन तोडिनुपर्ने बताएपछि कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवादीमाथि दवाव बढाउँदै गएको छ ।

यसैबीच नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी कमिटीको बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी अघि बढाउनका लागि भएको छलफल र आधिकारिक धारणा बनाउने बारेमा कुराकानी हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

वर्तमान सत्ता गठबन्धन जोगाउनका लागि एमसीसी परियोजना अघि बढाउन एकीकृत समाजवादी पार्टीले सहमति जनाएपछि अध्यक्ष माधवकुमार नेपालले स्थायी कमिटीको बैठक बोलाउनु भएको हो । तर एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल नेतृत्वको समितिले एमसीसी संशोधन नगरी पारित गर्न नहुने निष्कर्ष पछिल्लो पटक बसेको स्थायी कमिटीको बैठकमा पेश गरेको थियो ।

एकीकृत समाजवादीका एक नेताका अनुसार अध्यक्ष नेपालले उच्चस्तरमा भएको सहमतिका बारेमा जानकारी गराएपछि त्यसैअनुसारको रणनीति बनाउने तयारी नेताहरूको छ ।

कार्यकर्तालाई एमसीसीविरुद्ध सडकमा उतार्ने, पार्टीलले बनाएको समितिले संशोधन नगरी पारित गर्न नहुने भन्ने अनि नेतृत्वले एमसीसी पारित गराउने सहमति गर्नु दोहोरो चरित्र भन्दै सम्मानित नेता खनाल लगायतमा असन्तुष्टि बढेको छ ।

नेपाली कांग्रेससँगको पछिल्लो छलफलमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी पुरक प्रस्ताव पेस गर्दै एमसीसी परियोजना संसदबाट पारित गर्न सघाउन तयार भएका खबर सार्वजनिक भइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *