आज रातिदेखि वर्षा र हिमपातको सम्भावना, आइतबारपछि मौसम खुल्दै जाने
१२ फागुन २०७८ काठमाडौं । आज रातिदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायू सक्रिय हुने भएकाले रातिदेखि पानी पर्ने क्रम बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। तर राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, लुम्बिनी तथा बाँकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै भोलि दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा मेघ गर्जन र चट्याङ्गको समेत सम्भावना रहेको छ ।
देशको उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । यसैगरी राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा मेघ गर्जन र चट्याङ्गको समेत सम्भावना रहेको छ ।
देशको उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । पर्सि दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुँदा उच्च पहाडी र हिमाली भूभागका केही स्थानम हिमपातको सम्भावना रहेको छ ।
राति सुदूरपश्चिम, कर्णाली, गण्डकीका उच्च पहाडी र हिमाली भूभागका केही र बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
आइतबारदेखि यो प्रणाली कमजोर हुँदै जाने भएकाले त्यसपछि भने मौसम खुल्दै जानेछ । तर पूर्ण रुपमा खुल्न भने समय लाग्ने मौसमविद्ले बताएका छन् ।
प्रतिक्रिया