विदेश

रुसी आक्रमणको सामना गर्ने युक्रेनी राष्ट्रपतिको चेतावनी

हिमालय टिभी
२०७८ फागुन १२ गते ७:५७
रुसी आक्रमणको सामना गर्ने युक्रेनी राष्ट्रपतिको चेतावनी

१२ फागुन २०७८ युक्रेन। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी आक्रमणको सामना गर्ने बताएका छन् ।

राष्ट्रपति जेलेन्स्कीले रुसलाई चेतावनी दिंदै आफ्नो स्वतन्त्रतामाथि आँच आउने कुनै प्रकारको आक्रमण गरे त्यसको प्रतिकार आफै गर्ने बताए ।

दक्षिणपूर्वी युक्रेनका दुई क्षेत्रलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिएर त्यहाँ आफ्ना सैनिक पठाउने निर्णय गरेपछिको अवस्थाले युद्धको संकेत गरेको उनको ठहर छ ।

वार्ताका लागि आफ्नो प्रस्तावको जवाफ रुसी राष्ट्रपति पुटिनले नदिएको उनले जनाए । चेतावनीसहितको टेलिभिजन सम्बोधनलाई रुसलाई युद्ध गर्नबाट रोक्न जेलेन्स्कीको अन्तिम अनुरोधका रुपमा लिइएको अन्तराष्ट्रिय सञ्चार माध्यमको टिप्पणी छ।

उनको सम्बोधन रसियाली जनतालाई आफ्ना राष्ट्रपतिलाई युक्रेनमा विनाशकारी युद्ध शुरू गर्नबाट रोक्न आग्रह गरेको आशयका रुपमा लिइएको छ । रुसी आक्रमण युरोपेली महाद्वीपमा ठूलो युद्धको शुरूवात हुन सक्ने समेत जेलेन्स्कीको आशय छ ।

युद्धको खतराकाबीच देश गम्भीर संकटमा फँसेको भन्दै युक्रेनमा संकटकाल घोषणा गरिएको छ । उता रुसी राष्ट्रपति पुटिनले आफ्नो देशको स्वार्थ र सुरक्षामा कुनै सम्झौता नहुनेमा जोड दिएका छन् ।

युक्रेनतर्फको सीमामा थप रुसी सेना अघि बढिरहेको बताइएका बेला पुटिनको भिडिओ सम्बोधनमार्फत आएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी हमलाको शुरुवात भन्दै मस्कोलाई चेतावनी दिएको केही घण्टामै पुटिनको भनाइ आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *