नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आज शुरू हुँदै
११ फागुन २०७८ काठमाडौं । नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आज शुरू हुँदैछ ।
ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दुई दिन बस्ने बैठक काठमाडौंमा हुनेछ। बैठकमा विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल हुनेछ।
नेपालका तर्फबाट विद्युत् व्यापार र केही प्रसारण लाइन आयोजनाका बारे प्रस्ताव गर्ने तयारी छ। नेपाल विद्युत् प्राधिकरणले आगामी मनसुनदेखि झण्डै ८५० मेगावाट विद्युत् भारत निर्यात गर्ने प्रस्ताव गरेको छ।
यसअघि प्राधिकरणले देवीघाट र त्रिशूली जलविद्युत् आयोजनाको कूल ३९ मेगावाट मात्रै निर्यात गर्ने अनुमति पाएको थियो । बैठकमा नेपाल–भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन, न्यू बुटवल गोरखपुरको थप प्रगति बारे छलफल हुनेछ।
दुई वर्षअघिको बैठकमा सो प्रसारण लाइन निर्माणबारे सहमति जुटेको थियो । कटैया कुशाहा १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट, रक्सोल–परवानीपुर प्रसारण लाइन, न्यू नौतनवा मैनिहा १३२ केभी प्रसारण लाइनबारे समेत छलफल हुने छ।
अरुण तेस्रो जलविद्युत् आयोजना र त्यसको प्रसारण लाइन निर्माणको बारेमा पनि छलफल हुने बताइएको छ। भारतले नेपालसँग मिलेर ठूलो क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव राखेको छ। यस्तै भारतको प्रसारण प्रणाली प्रयोग गरेर बंगलादेश विद्युत् निर्यात गर्ने बारेसमेत ऊर्जा सचिवस्तरीय बैठकमा छलफल हुनेछ ।
प्रतिक्रिया