सत्ता गठबन्धनको बैठक आज पनि बस्दै
६ फागुन २०७८ काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दैछ।
एमसीसीमा सहमति नजुटेपछि धरापमा परेको गठबन्धन त्यसलाई जोगाउँदै अघि बढ्ने कसरतमा छ । तर सहमतिका लागि भन्दै भएका पटकपटकका बैठक निष्कर्षविहीन भएका छन् ।
तथापि आज बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकलाई निर्णायक भनिएको छ । सहमति नजुटे पनि वारपार गरेर आजै एमसीसी टेबुल गराउने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्छ ।
गठबन्धनमा सहमति नजुट्ने संकेत पाएपछि देउवाले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई उहाँकै निवास बालकोट पुगेर हिजो राति भेटवार्ता गर्नु भएको छ ।
छलफलमा देउवाले ओलीको साथ माग्नु भएको बुझिएको छ । ओलीले भने गठबन्धनमा वारपार गरेर सहकार्यमा आउन प्रस्ताव राख्नुभएको जनाइएको छ ।
त्यसअघि हिजै भएको गठबन्धन बैठकमा एमसीसी टेबुल गर्नुपूर्व संसद सञ्चालको ग्यारेन्टी हुनुपर्ने सर्त माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राख्नुभएको थियो । लगत्तै देउवा ओलीलाई भेट्न बालकोट जानुभएको थियो ।
प्रतिक्रिया