राजनीति

संसदबाट एमसीसी पास नगर्न माग गर्दै काठमाडौंमा प्रदर्शन- के-के भयो दिनभर ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ४ गते २०:५५
संसदबाट एमसीसी पास नगर्न माग गर्दै काठमाडौंमा प्रदर्शन- के-के भयो दिनभर ? (भिडियो रिपोर्टसहित)

४ फागुन २०७८ काठमाडौं । संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) पास नगर्न माग गर्दै काठमाडौंमा दिनभर प्रदर्शन र झडपहरु भए । संसद भवन नजिक नयाँ बानेश्वर चोकदेखि बबरमहल क्षेत्र केहीबेर तनावग्रस्त बन्यो । सत्तारुढ दलका नेता–कार्यकर्तादेखि प्रतिपक्षी दलहरु राप्रपा, मजदुर किसान पार्टीका कार्यकर्ता विरोधमा उत्रिए ।

एमसीसी बुधबार संसदमा प्रस्तुत हुने चर्चासँगै काठमाडौंमा विरोध प्रदर्शनहरु भए । विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द आह्वान मात्र गरेन, विभिन्न साना बामपन्थी दलहरुदेखि राप्रपाका नेता–कार्यकर्ता सडकमा उत्रिए । संघीय संसद रहेको काठमाडौंको नयाँ बानेश्वर क्षेत्र दिनभर तनावग्रस्त रह्यो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्जदेखि पानीका फोहोरा र अश्रु ग्यास पनि छाड्यो ।

एमसीसीको विरोधमा नेकपा माले, नेपाल मजदुर किसान पार्टी लगायतका २३ साना दल प्रदर्शनमा उत्रिए । उनीहरुसँगै सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी पनि कुममा कुम जोडेर विरोध गर्दै थियो ।

प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्नुका साथै पानीको बोटलसमेत प्रहार गरेका थिए भने सुरक्षाका लागि राखिएको काँडेतार हटाइदिएका थिए । प्रदर्शनका क्रममा पटकपटक झडप भयो । झडपका क्रममा प्रदर्शनकारी र प्रहरीका केही जवान घाइते भए ।

यसक्रममा काठमाडौं उपत्यकाबाट प्रहरीले १ सय ३९ जनालाई नियन्त्रणमा लियो । एमसीसीको विरोधमा प्रदर्शन हुने पूर्वसूचना अनुसार बुधबार बिहानैदेखि संघीय राजधानी काठमाडौं, त्यसमा पनि नयाँ बानेश्वर क्षेत्र र संघीय संसद वरपरको सुरक्षा व्यवस्था कडा पारिएको थियो । यी क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीबाट विभिन्न तहमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

संसद बैंठक स्थगित भएपछि पनि केहीबेर नाराबाजी र विरोध भएपनि अपरान्ह चार बजेपछि भने अवस्था सामान्य बन्यो र सवारी आवागमन सहज भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्